

सिड्नी (अष्ट्रेलिया)। श्री नरहरिनाथ योगी तथा आदित्यनाथ फाउन्डेशन अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर २७, २८ र २९ गते सिड्नीस्थित ग्राण्ड प्यालेस, पारामाटा रोडमा श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ।

संस्थाका अध्यक्ष पं. नारायण नारायण शास्त्री पन्थीको विशिष्ट नेतृत्वमा उपाध्यक्ष रामहरी थापा, कोषाध्यक्ष अनिल ज्ञावली, सचिव कृष्णप्रसाद सुवेदी र प्रोपाइटर रन्जित शाहको संयोजनमा हुने यो तीनदिने महायज्ञमा अष्ट्रेलियाभर रहेका शुभेच्छुक, सनातन धर्मप्रेमी तथा ॐकार परिवारका सदस्यहरूको व्यापक सहभागिता रहने बताइएको छ।

महायज्ञमा भागवत मञ्जरी राधिकादाशजीको मुखारविन्दबाट कथा वाचन तथा विशिष्ट कलाकारहरूको संगीतपूर्ण भजन कार्यक्रम हुनेछ। नेपालका सुप्रसिद्ध विद्वान् डा. भोलानाथ योगीको विशेष आतिथ्य रहने महायज्ञ पं. नारायण शास्त्रीको अध्यक्षतामा सञ्चालन हुनेछ।
कार्यक्रममा अष्ट्रेलियास्थित सामाजिक, धार्मिक संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरू र ॐकार परिवारका धर्मानुरागीहरूको उपस्थिति रहनेछ। आयोजकहरूका अनुसार यस महायज्ञले अष्ट्रेलियामा रहेका सनातन हिन्दु समाजलाई धर्म, अर्थ, काम र मोक्ष सम्बन्धी जीवन–दर्शनप्रति जागरूक गराउनेछ।
महायज्ञका क्रममा विश्व शान्ति, मानव बन्धुत्व र सनातन जीवन पद्धतिका विषयमा समेत विशेष चर्चा–परिचर्चा गरिनेछ। अध्यक्ष पं. नारायण शास्त्रीका अनुसार “सनातन हिन्दु संस्कृति र दर्शन मानव धर्म र विश्व शान्तिको आधार हो,” भन्ने सन्देश विश्वभर प्रवाहित गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।
डा. भोलानाथ योगीको उपस्थितिले महायज्ञमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको आयोजकहरूको भनाइ छ। विगत चार दशकदेखि शिक्षा, धर्म, संस्कृति, मानवसेवा आदिमा समर्पित डा. योगीले हिन्दु विद्यापीठ, गुरुकुल, वृद्धाश्रम, बाल शान्ति गृहजस्ता संस्थामार्फत निरन्तर योगदान दिँदै आएका छन्।
यस अवसरमा विश्व ॐकार एकता महाभियान परिवार, विश्व हिन्दु महासंघ अष्ट्रेलिया र राष्ट्रीय हिन्दु एकता मञ्च नेपालले पनि महायज्ञको सफलताको शुभकामना व्यक्त गरेका छन्।
महायज्ञबाट संकलित रकमद्वारा योगी नरहरिनाथका कृतिहरू प्रकाशन गर्ने योजना संस्थाले बनाएको छ। कोषाध्यक्ष अनिल ज्ञावलीका अनुसार “यो अभियानले धर्म, संस्कृति र दर्शनको प्रचार–प्रसारमा नयाँ ऊर्जा दिनेछ।” सचिव कृष्णप्रसाद सुवेदीले ॐकार परिवारलाई व्यापक रूपमा सहभागिता गराई सनातन धर्मको महिमा जन–जनमा पु¥याउने लक्ष्य रहेको बताए।
प्रो. रन्जित शाहका अनुसार कार्यक्रममा सहभागी भक्तजनका लागि आवास, भोजन र अन्य व्यवस्थापनका सबै तयारी पूरा गरिएका छन्।

