Aamsanchar

अर्जुनधारामा पालिका स्तरीय फुटवल प्रतियोगिता हुने

Author Image
सोमवार, मंसिर २, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा जिल्लाभरका १५ वटा पालिकालाई समावेश गर्ने जिल्ला स्तरीय १८ वर्षमुनिको फुटबल प्रतियोगिता आगामी माघ महिनाभित्र आयोजना हुने भएको छ। शनिस्चरे फुटबल क्लबद्वारा अर्जुनधारा–७ विरिङ खोला छेउमा निर्मित रंगशालामा हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।

झापाली युवा खेलाडीलाई प्रोत्साहन गर्ने, अनुशासन बढाउने र कुलतबाट टाढा राख्ने उद्देश्यसहित आयोजना गरिन लागेको प्रतियोगिताको यकिन मिति भने टुङ्गो लागिसकेको छैन। हाल रंगशालामा स्तरउन्नतिको काम तीव्रगतिमा भइरहेको क्लबले जनाएको छ।

करीब ९ लाख ७० हजार रुपैयाँ बजेट रहेको प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत विधातर्फ मात्र ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सामान्य खर्चमध्ये खेल मैदान स्तरउन्नतिमा १ लाख ७० हजार, प्रचार–प्रसारमा १ लाख ६५ हजार, छपाइमा १ लाख १५ हजार, रेफ्री पारिश्रमिकमा ७० हजार, स्वयम्सेवक तथा अतिथिका लागि ५० हजार, प्राविधिक–मेडिकलमा ४० हजार र अन्य शीर्षकमा ५० हजार बजेट छुट्याइएको क्लबले जनाएको छ।

प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक, सह–प्रायोजक, नगरपालिका, विभिन्न संघ–संस्था तथा खेलप्रेमीलाई आर्थिक स्रोतको रूपमा लिइने क्लबले जानकारी दियो। क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक टेकराज तिलिङको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

कार्यक्रममा वडाध्यक्ष गोविन्द खतिवडा, कुमार उप्रेती, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), अर्जुनधारा खेलकुद विकास समिति अध्यक्ष सुरेन्द्र धिमाल, व्यवसायी मिलन बस्नेत, विजय सेन्दाङ, पूर्व खेलाडी टिका पोखरेललगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन क्लबका सचिव हरि गुरुङले गरेका थिए।

भिडियो पनि हेर्नुहोस् ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर