बिर्तामोड । सन् १९००–१९२० सम्म ओलम्पिक खेलकुदमा समेत समावेश भएको डोरी तान नेपालमा परम्परागत मेलापात, जात्रा र चाडबाडमा शक्ति परीक्षणको सांस्कृतिक प्रतीकका रूपमा खेलिँदै आएको खेल हो । पछिल्ला वर्षमा यो खेल औपचारिक संरचना र प्रतियोगितामार्फत जिल्ला तथा राष्ट्रिय स्तरसम्म विस्तार भएको छ । संघ गठन हुँदै भारतबाट भित्रिएको यो खेल झापामा झनै लोकप्रिय बन्दै गएको छ ।
मंसिर ११ गते झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीस्थित मोती आधारभूत विद्यालयको खेलमैदानमा आयोजित जिल्ला स्तरीय डोरी तान प्रतियोगिता उत्साहपूर्ण र मनोहरी बनेको थियो । खेलाडीको अदम्य जोश र दर्शकको अविरल उत्साहले खेल मैदान पूरै तरंगित थियो ।

प्रतियोगिता डोरी तान संघ झापा र हल्दिबारी जेसीजको संयुक्त आयोजनामा भएको हो, जसमा कुल ११ समूहको सहभागिता रह्यो—जिल्लास्तरका प्रतियोगितामा यो निकै ठूलो सहभागी मानिन्छ । हल्दिबारी गाउँपालिका, अर्जुनधारा, कनकाई, भद्रपुर, गौरादह, बुद्धशान्ति, कचनवल, गौरीगञ्ज तथा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडी समूह सहभागी थिए ।
कडा प्रतिस्पर्धाबीच गौरादह र बुद्धशान्ति फाइनलमा पुगेका थिए । तीन चरणको भिडन्तमा गौरादहले लगातार दुई खेल जित्दै यस वर्षको जिल्ला च्याम्पियन बन्यो । विजेता टोलीले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

निर्णायकमा रोशन ओझा, देवराज खतिवडा, प्रयाश दाहाल, नारायण न्यौपाने रहेका थिए ।


गौरादहका खेलाडीमा मन्तोष विमली, दीपेन्द्र चौहान, आर्यन खड्का, सन्दिप प्रसाई, टिकाराम ठटाल, शुदर्शन ठटाल, प्रिन्स बोहोरा, मुवारक खान र पारस सुन्दास रहे ।
उपविजेता बुद्धशान्तिले नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । बुद्धशान्तिका प्रतिनिधि खेलाडीमा राजकुमार खवास, अर्जुन लिम्बु, पदम तामाङ, विकास लिम्बु, धनकुमार लावती, दिनेश लिम्बु, जितबहादुर गुरुङ, दिनेश फागो र प्रसिल लिम्बु रहेका थिए ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश डोरीतान संघ र हल्दिबारी गाउँपालिका संरक्षकको भूमिकामा थिए । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट प्रमुख अतिथि थिए भने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश अधिकारी, मनमोहन प्राविधिक विश्वविधाल का उपकुलपति तथा टग अफ वार नेपाल केन्द्रीय समिति उपाध्यक्ष डा सुवासश्री पोखरेल,नेपाल जेसीज सामुदायिक क्षेत्र ईभीपी कृष्ण सापकोटा, नेपाल जेसीज ईभीपी गणेश सापकोटा, हल्दीबारी ५ वडा दक्ष खड्ग लावती लगायतले खेलको महत्वबारे मन्तव्य राखे ।
कार्यक्रममा स्वागत मन्तव्य जेसीआई हल्दिबारीका कार्यकारिणी उपाध्यक्ष योगेश कार्की, मिशनभिजन वाचन जेसीआई हल्दिबारी कार्यकारिणी उपाध्यक्ष नितेश खरेल, आस्था वाचन डोरी तान संघ झापा कोषाध्यक्ष मेनुका उप्रेती र कार्यक्रमको संचलन डोरितान झापा सचिब मनिष मुर्मु र हल्दिबारी सेसीजका महासाचिव प्रार्थना पौड्यालले गरेका थिए ।
हल्दिबारीको नाम राष्ट्रिय स्तरमा चिनाएको अवसर
यो प्रतियोगिताले हल्दिबारीलाई राष्ट्रिय नक्सामा मात्र चिनाएको छैन, स्थानीय तहमा श्रम–संगै रमजदुरी गर्दै आएका युवाहरूलाई खेलाडीको पहिचान दिलाउन सकिने सम्भावना पनि देखाएको छ । बल र बुद्धिको संयोजन आवश्यक पर्ने, न्युन जोखिमयुक्त र अत्यन्तै रोचक खेल भएकोले डोरी तान ग्रामीण समुदायदेखि शहरी युवासम्म आकर्षण बढाउँदै गएको छ ।
डोरी तान अब केवल मेलापातको मनोरञ्जनात्मक खेल मात्र नभई व्यावसायिक खेलकुदको क्षेत्रमा उदाउँदै गरेको संरचित खेलको रूपमा झापाबाट राष्ट्रिय स्तरमा फैल्दै गएको सन्देश हल्दिबारीले दिएको छ ।

