Aamsanchar

जेसीज अभियानमा उदीयमान नेतृत्व : मेनुका ओलीको संगठनात्मक यात्रा

Author Image
सोमवार, मंसिर २९, २०८२

झापा बिर्तामोड निवासी मेनुका ओली पछिल्लो समय जेसीज अभियानभित्र सक्रिय, अनुशासित र क्षमतावान नेतृत्वको रूपमा परिचित हुँदै गएकी छन्। सन् २०१९ मा वीरता लेडी जेसीजमार्फत संगठनमा प्रवेश गरेकी ओलीले पाँच वर्षको अवधिमा जिम्मेवारी, अनुभव र नेतृत्व क्षमताको अभ्यास गर्दै आफूलाई एक सशक्त नेतृत्वदायी पात्रका रूपमा उभ्याएकी छन्।

जेसीजमा प्रवेश गरेको छोटो समयमै अध्यक्षको जिम्मेवारी सम्हाल्न सफल ओलीले वीरता लेडी जेसीजलाई झापाको एक सक्रिय र परिचित शाखाको रूपमा विकास गर्न भूमिका खेलेकी छन्। शाखाभित्र कार्यक्रमको निरन्तरता, सदस्य सक्रियता र सामाजिक उत्तरदायित्वका गतिविधिमा जोड दिँदै उनले संगठनलाई केवल औपचारिक भेटघाटमा सीमित नराखी समुदायसँग जोड्ने प्रयास गरिन्।

२०२५ को कार्यकालमा वीरता लेडी जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी ओलीले कार्यकाल अन्त्यतर्फ उन्मुख हुँदै गर्दा नेपाल जेसीजको केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। उनको उम्मेदवारीलाई संगठनभित्र नेतृत्व क्षमताको निरन्तरता र अनुभवको स्वाभाविक अगाडि बढाइका रूपमा हेर्ने जेसीजकर्मीहरू पनि भेटिन्छन्।

नेतृत्व विकासमा तालिम र सिकाइलाई आधार मान्ने ओलीले नेपाल जेसीजद्वारा प्रदान गरिने टीओटी (Training of Trainers) सहित आवश्यक सबै तालिम पूरा गरिसकेकी छन्। पछिल्लो समय उनी स्थानीयदेखि प्रदेशस्तरसम्म प्रशिक्षकका रूपमा समेत सक्रिय रहँदै आएकी छन्, जसले उनलाई संगठनको नीति, संरचना र सदस्य विकासमा गहिरो बुझाइ दिन सहयोग गरेको देखिन्छ।

सहकार्य र समन्वयमा विश्वास गर्ने ओली अग्रजप्रति सम्मान र अनुजप्रति प्रोत्साहनको नेतृत्व शैली अपनाउँछिन्। यही स्वभावका कारण उनी संगठनभित्र सबै पुस्ताका सदस्यबीच स्वीकार्य नेतृत्वको रूपमा चिनिन थालेकी छन्। जेसीजको मूल मन्त्र र आस्थाका मूल्यलाई व्यवहारमा उतार्दै उनले संस्थागत गतिविधिलाई समुदाय केन्द्रित बनाउने प्रयासलाई निरन्तरता दिएकी छन्।

‘नेतृत्व भनेको पद मात्र होइन, जिम्मेवारी बोध र सामूहिक लक्ष्यप्रतिको प्रतिबद्धता हो’ भन्ने विश्वास राख्ने ओली काम गर्ने इच्छाशक्ति, मन, धन र साहसको संयोजनबाट युवालाई गोलबद्ध गर्न सकिने धारणा राख्छिन्। यही दृष्टिकोणका कारण उनी एक डाइनामिक, व्यावहारिक र परिणाममुखी नेतृत्त्वको रूपमा पहिचान बनाउँदै गएकी छन्।

आगामी जेसीज महाधिवेशन नजिकिँदै गर्दा मेनुका ओलीको उम्मेदवारी पदको प्रतिस्पर्धाभन्दा पनि संगठनभित्र नेतृत्व विकास, अनुभव र दृष्टिकोणको बहसका रूपमा प्रस्तुत भइरहेको देखिन्छ। उनको आजसम्मको यात्रा र सक्रियताले जेसीज अभियानमा नयाँ पुस्ताको नेतृत्व कसरी अघि बढ्दैछ भन्ने चित्र पनि देखाउँछ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर