Aamsanchar

बिर्तामोड, समुदायको एकताले जन्माएको नागरिक अस्पताल

Author Image
शनिवार, पौष २६, २०८२

बिर्तामोड । झापाको बिर्तामोड आज स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। साना–ठूला गरेर करिब डेढ दर्जन अस्पताल सञ्चालनमा रहेको यस सहरमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू सधैं बिरामीले भरिभराउ छन्। तर, यति धेरै अस्पताल हुँदाहुँदै पनि नागरिककै प्रत्यक्ष लगानीमा सञ्चालित अस्पताल भने यसअघि बिर्तामोडमा थिएन।
अब त्यो अभाव पूरा हुने भएको छ। स्थानीय नागरिक अगुवा, व्यवसायी र सर्वसाधारणको सानो–सानो योगदानबाट सामूहिक प्रयासमा निर्माण भइरहेको ‘नागरिक अस्पताल’ आगामी बैशाखदेखि सञ्चालनमा आउने तयारीमा छ। बिर्तामोड–५ हर्कलाल रोडमा स्थापना हुन लागेको यो अस्पताल समुदायको एकताले सम्भव भएको एउटा उल्लेखनीय उपलब्धि हो।

नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको मातहतमा सञ्चालन हुने यस अस्पतालले सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। आज (शनिवार) आयोजित संस्थाको पाँचौँ वार्षिकोत्सव तथा साधारणसभाका अवसरमा अस्पताल सञ्चालनको तयारी तीव्र बनाइएको जानकारी दिइएको छ।
अहिलेसम्म ३०० भन्दा बढी नागरिक शेयर सदस्यका रूपमा जोडिइसकेको अस्पतालका सञ्चालकमध्ये कृष्ण पौडेलले बताए, “अब निर्माणकार्यलाई तीव्रता दिँदै बैशाखदेखि पूर्ण रूपमा अस्पताल सञ्चालनमा ल्याउने तयारीमा छौँ।” यस अघि एउटा सामुदायिक अस्पताल रहेपनि सो अस्पतालमा सिमित समूहको मात्र लगानी रहेको छ ।
अस्पताल सञ्चालनका लागि ११ कठ्ठा जमिन २५ वर्षका लागि भाडामा लिइएको छ।

बिर्तामोडमा बीएण्डसी, कनकाई, मनमोहन, बिर्तासिटी, मेची आँखा अस्पतालजस्ता पूर्वकै चर्चित उपचार केन्द्रदेखि नगर अस्पताल, बिर्तामोड चिल्ड्रेन, आधार, सञ्जीवनी, दृष्टि आँखा, बिर्तामोड आँखा, कञ्चनजंघा मोडेल लगायतका स्वास्थ्य संस्था सञ्चालनमा छन्। यस्तै सशक्त स्वास्थ्य संरचनाबीच अब नागरिककै पहलमा नयाँ अस्पताल थपिनु बिर्तामोडको अर्को पहिचान बन्ने संकेत देखिएको नागरिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष युवराज दाहालले बताए ।

नागरिक अस्पतालले आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक सेवा र नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गर्ने तयारी गरेको कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए।
“बिरामीको आर्थिक अवस्थालाई ध्यानमा राख्दै विपन्न, सर्वसाधारण नागरिकले सहज रूपमा उपचार पाउन सक्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो,” उनले भने।
स्वास्थ्य सेवा व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्व हो भन्ने सन्देश बोकेको नागरिक अस्पताल समुदायको एकता, नागरिक सचेतना र सामूहिक लगानीको उदाहरण बनेको छ । यसले बिर्तामोड मात्र होइन, आसपासका ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई पनि सहज उपचारको आशा जगाएको छ ।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर