Aamsanchar

खण्डहर बनेको विद्युत प्राधिकरणको भवनः बिर्तामोड–४ मा सुरक्षा जोखिम बढ्दै

Author Image
सोमवार, पौष २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको विद्युत प्राधिकरणको पुरानो कार्यालय भवन दुई दशकदेखि प्रयोगविहीन अवस्थामा खण्डहर बनेको छ । जीर्ण अवस्थामा पुगेको उक्त भवन अहिले कुनै कामको नहुँदा पनि त्यसले ओगटेको भू–भाग भने सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ ।

स्थानीयका अनुसार भवन काम नलाग्ने अवस्थामा पुगे पनि सो क्षेत्र प्रहरी बिट, सडक नागरिक संरक्षण केन्द्र, बाल उद्यान, कवर्ड हल जस्ता सार्वजनिक संरचना निर्माणका लागि उपयोग गर्न सकिने पर्याप्त सम्भावना बोकेको छ । विद्युत प्राधिकरणसँग समन्वय गरी भाडामा लिएर निजी क्षेत्रमार्फत उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने गतिविधि सञ्चालन गर्न सकिने विकल्पसमेत रहेको उनीहरूको भनाइ छ ।

हाल भवन खण्डहर बनेको र वरिपरि झाडीले ढाकिएको अवस्थाले सुरक्षा जोखिम बढाएको स्थानीयले गुनासो गरेका छन् । विशेषगरी रात्रीकालीन समयमा यस क्षेत्र हुँदै आवतजावत गर्ने पैदल यात्रुहरू डर र त्रासका बीच यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

स्थानीयले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकाय र बिर्तामोड नगरपालिकाले तत्काल चासो देखाई भवन व्यवस्थापन तथा जग्गाको उचित उपयोग गर्न पहल गर्नुपर्ने माग गरेका छन्।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर