नेपाल विविध जातजाति, भाषा र संस्कृतिको साझा थलो हो । यही विविधताबीच सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने साझा पर्वहरूमध्ये माघे सङ्क्रान्ति पनि एक हो । माघ १ गते देशका विभिन्न ठाउँमा मेला लाग्छन्, घरघरमा विशेष परिकार पाक्छन् र गाउँ–टोलमा सामूहिक भेटघाटको माहोल बन्छ ।
यही साझा संस्कृतिलाई जीवन्त बनाउँदै आएका छन् झापा बिर्तामोडका सामाजिक व्यक्तित्व राजकुमार पोखरेल । पोखरेलले माघे सङ्क्रान्तिलाई केवल पर्वमा सीमित नराखी सामाजिक एकता, भाइचारा र आत्मीयताको उत्सव बनाउँदै आएका छन् ।

हरेक वर्ष माघ १ गते पोखरेलको घरमा लाग्ने जमघट कुनै औपचारिक कार्यक्रमभन्दा कम हुँदैन । छरछिमेक, नातागोता, साथीभाइ र शुभेच्छुकलाई निमन्त्रणा गरेर घरमै आयोजना गरिने यो सङ्क्रान्ति विशेष कार्यक्रम पछिल्लो एक दशकदेखि निरन्तर चलिरहेको छ ।

घरमै सयभन्दा बढी पाहुनालाई निम्त्याएर आयोजना गरिने कार्यक्रममा घर तरुल, सिमल तरुल, सुठुनी, तिल, चिउरा, मुरैका डल्ला, पुरी, तरकारी, अचार, जुलपी (जेरी)लगायत दर्जनभन्दा बढी परिकार आत्मीय सत्कारका साथ पस्किने गरिन्छ । पाहुनाका लागि यो केवल खानपान होइन, आपसी सम्बन्धको स्वाद पनि हो ।
दश वर्षअघि सुरु गरिएको पोखरेलको यो पहल आज बिर्तामोडमै एउटा ब्रान्ड जस्तै बनिसकेको छ । “माघ १ गते राजकुमार पोखरेलको घरमा पुग्नैपर्छ” भन्ने सोच आगन्तुकहरूको मनमा गहिरिएर बसेको छ ।


नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी भन्छन्,
“तरुल त सबैको घरमा पाक्छ, तर राजकुमार दाइको घरमा आएर नखाएसम्म माघे सङ्क्रान्ति आएजस्तो नै लाग्दैन ।”
बिर्तामोड क्षेत्रका स्थापित व्यवसायी, सामाजिक अभियन्ता, पत्रकारदेखि सर्वसाधारणसम्मको उल्लेखनीय सहभागिता रहने यो कार्यक्रमले समाजमा एकता, सद्भाव र भाइचाराको सन्देश फैलाइरहेको छ ।
पर्वलाई प्रदर्शन होइन, सम्बन्ध सुदृढ गर्ने माध्यम बनाउने राजकुमार पोखरेलको यो पहल आजको व्यस्त र आत्मकेन्द्रित समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ । माघे सङ्क्रान्ति उनको घरमा केवल चाड होइन, समाज जोड्ने एउटा संस्कार बनेको छ ।


