Aamsanchar

आर्थिक अभावले थलिएको आर्यनको जीवन–मृत्युको संघर्ष

रक्त क्यान्सरसँग लडिरहेका १७ वर्षीय छात्रलाई बचाउन सहयोगको अपिल

Author Image
शनिवार, माघ १०, २०८२

झापाको बिर्तामोड–३, समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महत्तो आज जीवन–मृत्युको कठिन संघर्षमा छन् । बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) तथा अप्लास्टिक एनिमियाबाट पीडित आर्यनको उपचार आर्थिक अभावका कारण गम्भीर संकटमा परेको छ।

बिर्तामोड–३ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत आर्यन दुई वर्षअघि काठमाडौंमा उपचारका क्रममा क्यान्सरबाट पीडित भएको पत्ता लागेको थियो । नेपालमै उपचार सम्भव नभएपछि अहिले उनको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ। तर चिकित्सकले तत्काल बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने सुझाब दिएका छन्।

आर्यनका मामा प्रमोद महत्तोका अनुसार प्रत्यारोपण अत्यन्तै महँगो र समयमै गर्नुपर्ने उपचार हो। “चिकित्सकले ढिला गर्न नहुने बताएका छन्, तर हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ,” उनले भावुक हुँदै बताए।

दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएको आर्यनको परिवारले अहिलेसम्म आफन्त, साथीभाइ र चिनजानसँग सरसापट गरेर उपचार गराउँदै आएको छ । तर अब त्यो सम्भावना पनि लगभग सकिएको परिवारजनको भनाइ छ।

आर्यनलाई अप्लास्टिक एनिमिया भएको चिकित्सकले पुष्टि गरेका छन्। यो रोगमा शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले स्वस्थ कोषिकामाथि आक्रमण गर्ने, हड्डीको मज्जामा रगत उत्पादन हुने प्रक्रिया अवरुद्ध हुने गर्दछ। कतिपय अवस्थामा यो जन्मजात पनि हुने र हेपाटाइटिस बी, एचआईभी, एपस्टेन–बार, साइटोमेगालो भाइरसजस्ता संक्रमणले पनि यो रोग निम्त्याउन सक्ने चिकित्सक बताउँछन्।

“हाम्रो छोरो बाँच्न चाहन्छ, पढ्न चाहन्छ, सपना देख्न चाहन्छ,” आर्यनकी आमा कमला महत्तो आँसु झार्दै भन्छिन्, “सबैसँग हात जोडेर सहयोगको याचना गर्छु।”

आर्यनको जीवन बचाउन इच्छुक दाता, सहयोगी संस्था तथा सामाजिक व्यक्तित्वहरूले
एनआइसी बैंक, बिर्ताबजार शाखा
खाता नम्बरः २४६५५७५२९४१२२६००१
(आर्यनकी आमा कमला महत्तोको नाममा)
रकम जम्मा गर्न सक्ने जनाइएको छ। साथै तल दिइएको क्युआर कोडमार्फत पनि सहयोग गर्न परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

सानो सहयोगले एक युवाको जीवन जोगिन सक्छ। आर्यनलाई बचाउने यो मानवीय यात्रामा साथ दिऔं।

 

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर