बिर्तामोड । बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी ले आफ्नो नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम, सम्मान र सांस्कृतिक प्रस्तुति सहित भव्य रूपमा मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटुवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा विभिन्न शैक्षिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै संस्थापक स्वर्गीय हरि प्रसाईको तस्बिरमा माल्यार्पण गरी गरेका थिए। वक्ताहरूले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थानीय शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरे।
वार्षिकोत्सवको अवसर पारेर सञ्चार, शिक्षा र समाजसेवामा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सञ्चार क्षेत्रमा योगदानको कदर गर्दै पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी, संस्थागत विद्यालय विकासमा योगदानका लागि राम सिटौला तथा असल अभिभावकका रूपमा ओमप्रकाश श्रेष्ठ र डा. चाँदनी प्रधान सम्मानित भए। उत्कृष्ट शिक्षकको रूपमा तीर्थराज खतिवडा पुरस्कृत भए।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी निकिता तामाङ र सिद्धान्त ढकाललाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई आकर्षक बनाएको थियो।


उनका अनुसार विद्यालयमा डे–स्कुल अवधारणाअनुसार बिहानदेखि बेलुकासम्म नियमित पठनपाठन, सह–पाठ्यक्रम गतिविधि, खेलकुद, सांस्कृतिक कार्यक्रम र सिर्जनात्मक अभ्यास सञ्चालन हुँदै आएको छ, जसले विद्यार्थीको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकासमा सहयोग पु¥याएको छ।
विद्यालयले नर्सरीदेखि उच्च कक्षासम्म विभिन्न नविन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा फोनिक्स कक्षा, लेखन अभ्यास, स्काउट, कोडिङ तथा परियोजना आधारित शिक्षण समावेश छन्। शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम, अभिभावक शिक्षा कार्यक्रम तथा स्वास्थ्य–पोषणसम्बन्धी अभिमुखीकरण समेत नियमित रूपमा सञ्चालन गरिएको जनाइएको छ।
भौतिक पूर्वाधार सुधारतर्फ विद्यालयले बालमैत्री वातावरण निर्माण, नयाँ शौचालय र चेन्जिङ रुम निर्माण तथा आवश्यक शैक्षिक सामग्री विस्तारमा ध्यान दिएको जनाएको छ।
आर्थिक विवरण प्रस्तुत गर्दै प्रिन्सिपल शर्माले विद्यालयको प्रमुख आय स्रोत विद्यार्थी शुल्क भएको उल्लेख गरे। शिक्षक–कर्मचारी तलब, यातायात, इन्धन, विद्युत्, कर तथा छात्रवृत्तिमा वार्षिक रूपमा ठूलो खर्च हुने उनले जानकारी दिए।
सीमित स्रोतसाधन र बढ्दो प्रतिस्पर्धा चुनौतीका रूपमा रहे पनि आगामी दिनमा शैक्षिक गुणस्तर, प्रविधिमैत्री शिक्षण, शिक्षक विकास र अभिभावकसँगको सहकार्यलाई अझ सुदृढ बनाउने योजना रहेको उनले बताए।
कार्यक्रमको समापनमा विद्यालय परिवारले सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको थियो।


