

झापा । नेपालीहरू स्वाभिमानी हुन्छन् भन्ने कुरा प्रायः व्यवहारमै देखिन्छ । आफ्ना दुःख, समस्या र अभावहरू सकेसम्म आफैं समाधान गर्ने संस्कार हाम्रो समाजमा गहिरो छ । तर कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ आत्मसम्मानभन्दा ठूलो प्रश्न बाँच्ने संघर्ष बन्छ ।

उदयपुरकी २४ वर्षीया उषा खड्का यतिबेला त्यस्तै कठिन परिस्थितिबाट गुज्रिरहेकी छन् । ऊर्जाशील, मेहनती र परिवारप्रति जिम्मेवार युवती उषा अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेकी छन् । उपचारका लागि उनलाई काठमाडौंस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार उषाको शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक सम्पन्न भएको छ । हाल उनी अर्धचेत अवस्थामा उपचाररत छन् । चिकित्सकहरूले उपचार प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहेको जनाएका छन् । तर उपचारसँगै जोडिएको आर्थिक भारले भने परिवारलाई गम्भीर संकटमा पारेको छ ।

उपचार खर्च जुटाउन परिवारले घरको सम्पत्ति बेच्ने, आफन्तसँग ऋण लिने लगायतका प्रयास गरिसकेको छ । विभिन्न सहयोगी दाताहरूको सहयोगबाट अप्रेसनसम्म सम्भव भएको भए पनि अस्पतालको बाँकी बिल र निरन्तर औषधि उपचारका लागि आवश्यक रकम अभावमा परिवार समस्यामा परेको छ ।
उषाका श्रीमानले भावुक हुँदै भने, “हामीले सकेजति सबै गरिसक्यौँ । देश–विदेशमा रहेका आफन्त र सहयोगीहरूबाट थोरै–थोरै सहयोग आइरहेको छ । तर उपचारको खर्च धेरै भएकाले त्यो पर्याप्त हुन सकेको छैन । मेरी श्रीमतीलाई बचाउन सबैसँग सहयोगको अपिल गर्दछु ।”
सामान्य आर्थिक अवस्थाको परिवारमा स्वास्थ्य समस्या नै सबैभन्दा ठूलो आर्थिक बोझ बन्ने गरेको छ । उषाको परिवार पनि त्यही पीडाबाट गुज्रिरहेको छ । अस्पतालको दैनिक खर्च, औषधि, परीक्षण तथा अन्य उपचार व्यवस्थापनका लागि निरन्तर आर्थिक स्रोत आवश्यक पर्ने चिकित्सकहरूले बताएका छन् ।
एकातिर अस्पतालको शय्यामा जीवनका लागि संघर्ष गरिरहेकी युवती, अर्कोतिर अस्पताल परिसर बाहिर सहयोगका लागि अपिल गरिरहेको परिवार—यो दृश्यले धेरैको मन छोएको छ ।
परिवारले मानवताका आधारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनीहरू भन्छन्, “सानो सहयोगले पनि एउटा जीवन बच्न सक्छ ।”
जीवनका थुप्रै सपना बोकेकी २४ वर्षीया उषाको संघर्ष अहिले केवल व्यक्तिगत कथा होइन, यो स्वास्थ्य उपचारकै कारण आर्थिक संकटमा परेका हजारौं नेपाली परिवारहरूको प्रतिनिधि कथा बनेको छ ।


