Aamsanchar

खेतबाटै नेताहरुलाई चुनौती : श्रम र उत्पादनको राजनीतिमा सिपी कडरिया

‘भाषणले मात्र होइन, कर्मले राजनीति जिउँछ’

Author Image
सोमवार, चैत २, २०८२

राजनीति भनेको केवल सत्ताको खेल होइन, समाज रूपान्तरणको माध्यम हो। यसको मूल उद्देश्य जनताको जीवनस्तर सुधार गर्नु, उत्पादन बढाउनु र न्यायपूर्ण समाज निर्माण गर्नु हो। तर आजको यथार्थ हेर्दा राजनीति धेरै ठाउँमा कर्मभन्दा भाषणको माध्यम मात्र बनेको देखिन्छ।

समाजवादी अर्थतन्त्रको कुरा गर्ने नेताहरू धेरै छन्, तर समाजवादी अर्थतन्त्र निर्माण गर्ने आधार—उत्पादन, श्रम, उद्यम र स्वावलम्बन—प्रति इमानदार प्रयास गर्ने नेता भने दुर्लभ हुँदै गएका छन्। समाजवाद भाषणबाट होइन, उत्पादन र श्रमको सम्मानबाट निर्माण हुन्छ।

आज धेरै नेताको “इलम” के हो भन्ने प्रश्न जनताले खुला रूपमा सोध्न थालेका छन्। राजनीति बाहेक उनीहरूको आर्थिक आधार के हो ? समाजलाई रोजगारी र उत्पादनमा कस्तो योगदान दिएका छन् ? यस्ता प्रश्नहरू अब टार्न सकिने अवस्थामा छैनन्।

राजनीतिक भाषणले केही समय ताली पाउन सक्छ, तर त्यो जनताको जीवन बदल्ने औजार होइन। जनताले नेताबाट सिक्ने कुरा केवल भाषणकला हुन सक्दैन। यदि नेताले आफैं उद्यम नगर्ने, उत्पादन नगर्ने र आर्थिक क्रियाकलापमा योगदान नदिने हो भने समाजलाई आत्मनिर्भर बन्ने प्रेरणा कसरी दिने ?

आज पेसा–व्यवसायमा चुनौती देखेर धेरै नागरिक अलमलमा छन्। यस्तो अवस्थामा नेताले मञ्चबाट उपदेश दिने मात्र होइन, आफैं काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ। विशेष गरी कम्युनिस्ट विचारधारा बोकेका नेताहरूका लागि त श्रम, उत्पादन र आत्मनिर्भरता झनै अनिवार्य नैतिक दायित्व हो। परिणाम देखाउन नसक्ने राजनीति अन्ततः खोक्रो नारामै सीमित हुन्छ।

यही सन्दर्भमा झापाको बिर्तामोड–४ निवासी सिपी कडरिया एउटा फरक उदाहरण बनेका छन्। उनी केवल राजनीतिक भाष्यकार होइनन्, श्रम र उत्पादनको अभ्यास गर्ने व्यक्ति हुन्।

दश वर्षे माओवादी आन्दोलनका क्रममा जीवनलाई जोखिममा राख्दै समाज परिवर्तनको अभियानमा लागेका कडरिया बन्दुक बोकेर पूर्वी नेपालका विभिन्न भूभागमा पुगेका थिए। आन्दोलनको स्वरूप परिवर्तन भएसँगै उनी भूमिगत जीवनबाट खुला राजनीतिमा सक्रिय बने। २०६० सालतिर जिल्ला नेतृत्व सम्हाल्दै उनले लामो समय पार्टीका मुद्दा जनतामाझ पु¥याउने काम गरे।

तर उनले राजनीति केवल भाषण र संगठनमा सीमित राखेनन्। पछिल्ला केही वर्षयता “समाजवादी अर्थतन्त्र” र “नेता बहुआयामिक बन्नुपर्छ” भन्ने सोचलाई व्यवहारमा उतार्ने अभियान सुरु गरेका छन्।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–२ मा उनले सप्तरंगी बहुउद्देश्यीय कम्पनी स्थापना गरेर कृषि उत्पादनमा लागेका छन्। अहिले उनी सो कम्पनीका अध्यक्षको रूपमा किवी, विभिन्न फलफूल तथा जडीबुटीजन्य उत्पादन गर्दै आएका छन्।

सहरका सभाहल र चुनावी मञ्चमा भाषण गर्दै हिँड्ने नेताहरूको भीडबीच कडरियाले खेतबारीबाटै आफ्नो पौरख देखाइरहेका छन्। राजनीति नै पेशा बनाएर कमिसन र अवसरको स्रोत खोज्ने प्रवृत्तिलाई उनले आफ्नो श्रम र उत्पादनमार्फत प्रत्यक्ष चुनौती दिइरहेका छन्।

वास्तवमा, खेतबारीमा पसिना बगाउने यस्तो अभ्यासले एउटा सन्देश दिन्छ—राजनीति समाजबाट अलग्गिएको पेशा होइन, समाजसँग जोडिएको जिम्मेवारी हो।

आज केही नेताहरू कडरियाको कृषि अभियानलाई भाषणमा उदाहरणका रूपमा प्रयोग त गर्छन्, तर व्यवहारमा त्यही बाटो हिँड्ने साहस देखाउँदैनन्। यही कारण जनतामा राजनीतिक नेतृत्वप्रति निराशा बढ्दै गएको छ।

यस पटकको चुनावले पनि एउटा स्पष्ट सन्देश दिएको छ—जनता अब खोक्रो भाषणबाट प्रभावित हुँदैनन्। परिवर्तनशील नागरिक चेतनालाई नबुझ्ने नेताहरूलाई जनताले सुध्रिने अवसर दिएका छन्।

अब हरेक नेताका लागि समयले एउटा कठोर सन्देश दिएको छ—राजनीतिसँगै उत्पादन, उद्यम र समाज निर्माणको क्षेत्रमा पनि आफूलाई स्थापित गर्नुपर्छ।

सिपी कडरिया कुनै पदका भरमा मात्र नेता बनेका व्यक्ति होइनन्। उनी शिक्षा, चेतना, विश्व राजनीति र अर्थतन्त्रको विश्लेषण गर्न सक्ने तथा व्यवहारमा उद्यम गरेर देखाउन सक्ने राजनीतिक–व्यवसायिक व्यक्तित्व हुन्।

आजको नेपाललाई यस्तै कर्ममुखी नेतृत्वको खाँचो छ—जहाँ राजनीति भाषणबाट होइन, श्रम, उत्पादन र परिणामबाट प्रमाणित हुन्छ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर