Aamsanchar

कनकाई सन्का खोला पुल निर्माण तीव्र, ठेक्काको समय सिमा अगाबै सम्पन्न हुने

Author Image
शनिवार, चैत ७, २०८२

बिर्तामोड । कनकाई नगरपालिकाले अघि सारेको सन्का खोला पुल निर्माण कार्य उल्लेखनीय गतिमा अघि बढेको छ । शिलान्यास भएको साढे दुई महिनाभित्रै पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । दुईदिन अघि आएको अकास्मत बाढीले निर्माणकार्यमा केही अबरोध खडा गरेको छ । उक्त प्राकृतिक बाधा आईनपरेको थियो भने ८० प्रतिशत काम पुरा हुने निर्माण कम्पनीका प्राविधिक प्रदिप पौडेलले बताए । पोडेलले थप्दै भने ’हामी ठेक्काको समय सिमा अगाबै काम सम्पन्न गर्ने छौं ।’

चालु आर्थिक वर्षको बैशाख २५ गतेसम्म निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहे पनि निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाएकाले तोकिएको समयभन्दा अगावै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।
कनकाईको जामुनखाडी सिमसार र धनुश्कोटी धामलाई जोड्ने यस पुल निर्माण सम्पन्न भएपछि करिब ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् भने चुरे क्षेत्रमा घुम्न आउने हजारौं पर्यटकलाई समेत सहज आवतजावत हुने अपेक्षा गरिएको छ ।

नेपाल सरकारको विशेष अनुदानअन्तर्गत २ करोड ८३ लाख रुपैयाँमा निर्माण भइरहेको ब्लक कल्भर्ट (पुल) ४२ मिटर ६० सेन्टिमिटर लम्बाइ र ८ मिटर ४० सेन्टिमिटर चौडाइको हुनेछ । जसमा ६ मिटर मोटरबाटो र बाँकी पैदल यात्रुका लागि छुट्टै लेन रहनेछ ।

वर्षायाम सुरु भएपछि सन्का खोला खहरे रूप लिएर बग्ने र पानीको तीव्र बहावका कारण करिब तीन महिना यस क्षेत्र वारपार गर्न कठिन हुने अवस्था रहँदै आएको थियो। खोलामा पुल निर्माण भएपछि उक्त समस्या समाधान हुनुका साथै नगरको गौरवपूर्ण योजनामध्ये एक पूरा हुने विश्वास गरिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले निर्माण कार्य अपेक्षाभन्दा छिटो गतिमा अघि बढेको उल्लेख गर्दै समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निरन्तर अनुगमन भइरहेको बताए। “निर्माण कम्पनीले जिम्मेवार ढंगले काम गरिरहेको छ, त्यसैले तोकिएको समयभन्दा अगावै पुल सम्पन्न हुनेमा हामी विश्वस्त छौं,” उनले भने।

त्यस्तै, नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता ल्याउने बताए। “यो पुल केवल पूर्वाधार मात्र होइन, विकासको मेरुदण्ड हो। यसले स्थानीय अर्थतन्त्र, पर्यटन र आवतजावतमा दीर्घकालीन प्रभाव पार्नेछ,” उनले प्रतिक्रिया दिए।

नगरपालिकाको नियमित अनुगमन र निर्माण कम्पनीको प्रतिबद्धताका कारण पुल तीन महिनाभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर