Aamsanchar

हावाहुरीले सखाप बनायो मेहनत : भद्रपुरको डेविट कृषि फर्ममा ५० लाख क्षति, कृषकको पीडा गहिरिँदै

Author Image
बिहिवार, चैत १२, २०८२

बिर्तामोड । झापाको भद्रपुरमा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले एक मेहनती कृषकको वर्षौंको पसिना केही घण्टामै बगाएको छ। भद्रपुर–१०, कलवलगुढीमा सञ्चालनमा रहेको डेविट कृषि फर्ममा प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याउँदा कृषकहरू भावनात्मक रूपमा समेत विक्षिप्त बनेका छन्।

राति करिब ८ बजेदेखि १० बजेसम्म आएको हावाहुरी र असिनाले १५ बिघा क्षेत्रफलमा फैलिएको हरियाली खेत उजाड बनाइदियो। पाक्न लागेको तरकारीबाली असिनाको प्रहारसँगै जमिनमै लडे, बोटहरू भाँचिए, अनि कृषकको आशा पनि सँगै टुट्यो।

फर्मका सञ्चालक खगेन्द्र महतोका अनुसार १० बिघामा लगाइएको टमाटर पूर्णरूपमा नष्ट भएको छ। “४० हजारभन्दा बढी बोटमा फल लागिसकेको थियो, केही दिनमै बजार लैजाने तयारी थियो,” उनले भक्कानिँदै भने, “तर असिनाले सबै सखाप बनाइदियो, अब केही पनि बाँकी रहेन।”

टमाटर मात्र होइन, खुर्सानी, काँक्रा, करेला, बोडी, सिम्ला खुर्सानी, सिमी र फर्सी जस्ता अन्य तरकारी बाली पनि उस्तै गरी नष्ट भएका छन्। खेतका हरिया बोटहरू अहिले सुक्खा र च्यापिएका देखिन्छन्, जसले त्यहाँको दुःखद दृश्य झल्काउँछ।

फर्मका अर्का सञ्चालक डेविट शिवाकोटीले सरकारले तत्काल क्षतिको यथार्थ मूल्यांकन गरी राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। “कृषक प्राकृतिक विपद्का कारण डुब्नु हुँदैन,” उनले भने, “सरकारले हामीलाई साथ दिनुपर्छ।”

त्यस्तै, महतोले सरकारसँग जग्गा भाडामा समेत सहुलियत दिन आग्रह गरेका छन्। फर्मले नेपाल सरकारअन्तर्गतको २२ बिघा जमिन वार्षिक ४ लाख ८० हजार रुपैयाँ तिरेर प्रयोग गर्दै आएको छ। अहिले यस्तो विपत्तिमा समेत सो भार वहन गर्नुपर्ने अवस्था कृषकका लागि झनै पीडादायी बनेको छ।

नेपालमा कृषि पेशा अहिले सबैभन्दा जोखिमपूर्ण क्षेत्र बन्दै गएको कृषकहरूको गुनासो छ। श्रमिक अभाव, बालीमा लाग्ने रोग, बजारको अनिश्चितता, प्राकृतिक प्रकोप र नीतिगत जटिलता—यी सबै चुनौतीका बीच पनि कृषकहरूले देशलाई आत्मनिर्भर बनाउन निरन्तर संघर्ष गरिरहेका छन्।

“यदि केवल नाफाकै लागि काम गर्ने हो भने अन्य क्षेत्र पनि थिए,” महतो भन्छन्, “तर हामीले देशकै लागि कृषि रोज्यौं। अहिले यही पेशा सबैभन्दा जोखिममा छ।”

विदेशी कृषि उत्पादनमा निर्भरता घटाउने प्रयासमा जुटेका यस्ता कृषकहरूलाई राज्यले संरक्षण र प्रोत्साहन दिनुपर्ने आवाज उठिरहेको छ। डेविट कृषि फर्मजस्ता उदाहरणले देखाउँछ—कृषि केवल व्यवसाय होइन, यो देशको अर्थतन्त्र र आत्मनिर्भरतासँग जोडिएको संवेदनशील आधार हो।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर