Aamsanchar

जीवन र संघर्ष

Author Image
शुक्रवार, साउन १६, २०७७

मानिसका सम्पूर्ण सफलताको साधक संघर्ष हो । मागेर वा रोना याचना गरेर पाएको सफलतालाई संघर्ष मान्न कदापि सकिँदैन । उत्साह, हिम्मत, साहस, आटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ ।

असारभरि हिलोमा संघर्ष गरेपछि मंसिरमा झुल्ने धानका बालाले किसानको जीवनलाई कति आनन्दित तुल्याउँछ होला ? वर्षभरि कठोर संघर्ष र मिहिनेत गरेर परीक्षामा आउने उत्कृष्ट परिणामले विद्यार्थीलाई कतिसम्म खुसी तुल्याउँछ होला ?

ह्रदयभित्र उर्लेका भावलाई गहकिला शब्दमा पोखेर सिर्जना गर्ने सर्जकलाई आफ्ना सिर्जना कृतिको आकृति ग्रहण गर्दा कति प्रशन्नता हुन्छ होला रु संघर्ष एउटा त्यस्तो पुँजी हो जसले संघर्ष गर्ने व्यक्ति मात्र होइन् त्यो व्यक्ति बस्ने समाज, छिमेक, समुदाय, राज्य आदि सबैले त्यस्ता सफलताको स्वाद चाख्न पाउँछन् । यसका विपरीत संघर्ष नगर्ने अल्छी जीवनमा जहिले पनि पछि पर्छन् र तिनीहरूलाई सफलताले सपनामा पनि साथ दिंदैन् ।

संघर्ष शब्दको अर्थ कोशिस भन्ने हुन्छ । टक्कर, विद्रोह, घर्षण, युद्ध वा पेलाई संघर्ष शब्दका यी अर्थले संघर्षको भयावह चित्र मानवसमक्ष उभ्याउँछन् । तर, जीवन अर्थात् जिन्दगीसँग गाँसिन आउने अनेकन संघर्ष शब्दले निरन्तर सक्रियता तथा कठोर परिश्रम नै जीवन हो भन्ने अर्थ बुझाउँछ । यसरी संघर्ष नै जीवन हो भन्ने अर्थ प्रकट गर्दछ ।

मानव जीवनलाई चिरिच्याँट्ट पारेर सजाउन समुन्नत र विकसित बनाउन कठोर परिश्रम र सक्रियतारूपी युद्ध स्वच्छ विद्रोह वा स्वच्छ प्रतिस्पर्धारूपी लडाई आवश्यक पर्दछ । मानव जातिले कुनै उच्च, महान, पावन एवं विशिष्ट लक्ष्य प्राप्त गर्न यदि अनवरत् रूपमा परिश्रम गरिरहन्छ भने त्यसलाई नै वास्तविक संघर्ष भन्न सकिन्छ । किनभने सभ्यताको मिर्मिरेदेखि वर्तमानसम्म मानिसले जेजति उपलब्धि हासिल गरेको छ त्यो निरन्तर परिश्रम र सक्रियतारूपी कठोर संघर्षको प्रतिफल हो । सम्पूर्ण उन्नति र विकासबीचको तत्व नै संघर्ष हो ।

सम्पूर्ण प्रगति र अभ्यूत्थानको रहस्य नै संघर्ष हो । त्यसैले जीवनलाई सुखी, सम्पन्न वैभवशाली बनाउने कारक तत्व भनौं वा सारतत्व नै संघर्ष हो । त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, संघर्ष नै जीवन हो । संघर्ष नै सफलता हो । संघर्ष नै जीवनको आधार हो । यही आधारमा टेकेर मानिसले आफ्नो गत्नव्य तय गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१