Aamsanchar

धरानमा जमिन भासिएपछि ७ घर विस्थापित

Author Image
बुधवार, असोज ७, २०७७

सुनसरी।  जमिन भासिएपछि धरान–२० विष्णुपादुकाको आँपटारमा ७ घरका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । महाभारतको चुरे पर्वत शृंखलामा पर्ने उक्त स्थानमा शनिबारदेखि जमिन भासिन थालेको छ ।

विस्थापित परिवारलाई नेपाली सेनाले निर्माण गरेको अस्थायी टेन्टमा राखिएको छ । लगातारको वर्षाले चुरे क्षेत्रको कमजोर जमिन भासिएको हो । शनिबार दिउँसो घरमा बसिरहेका बेला एक्कासि जमिन हल्लिएपछि भूकम्प आएको ठानेर भाग्नुपरेको बलबहादुर राईले बताए । ‘जमिन भास्सिन थालेपछि भ्याएजति सामान निकालियो । गाईबस्तु पनि फुकालेर अन्यत्र खेदायौं,’ उनले भने, ‘घर धाँजामा भास्सिएको छ ।’

अर्की विस्थापित सपना राईले मौसम अझै नखुलेकाले थप पहिरो जाने हो कि भन्ने चिन्ता लागेको बताइन् । घरसँगै खेतबारीमा पनि धाँजा फाटेको उनको भनाइ छ । ‘अब त्यहाँ घर बनाउने, खेतपानी गर्ने अवस्था नै रहेन । कसरी जीविका चलाउने भन्ने चिन्ताले बढी सताएको छ,’ उनले भनिन् । उक्त क्षेत्रका घरमा क्षति पुग्नुका साथै खेतबारी, सडक, जंगलमा समेत जमिन धसिएको छ, कतै पहिरो गएको छ ।

वडाध्यक्ष मणिराम राईले वडाको विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्काल सहयोगबारे निर्णय गर्ने बताए । ‘विस्थापितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या छ,’ उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले सात परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडा, कपडा, डोरी, बाल्टिनलगायत प्याकेजमा नै राहत दिएको छ ।’ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका भूगर्भविद् चम्पकबाबु सिलवालका अनुसार जमिन भासिएको क्षेत्र कमजोर चट्टानले बनेकाले निरन्तर वर्षाका कारण पहिरो जान सक्ने जोखिम औंल्याए ।

यो समाचार आजको कान्तिपुरमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)

सम्बन्धित खबर