Aamsanchar

इलामका तिम्सिना वेपत्ता भएको ४० बर्षमा फेला

Author Image
शनिवार, फागुन २९, २०७७

इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा गाउँका दीपक जैसी तिम्सिना घरबाट बेपत्ता भएको ४० वर्षपछि भारतको कोलकतास्थित दमदम कारागारमा फेला परेका छन् । २०३७ साल माघमा स्थानीय मङ्गलबारे बजारमा तोरी बेच्न घरबाट हिँड्नु भएको तिम्सिना बेपत्ता भएपछि उनको परिवारले विभिन्न स्रोतमार्फत् खोजी कार्य गरिरहेको थियो ।

परिवारका सदस्यले दीपकको बारेमा कुनै जानकारी पाउन सकेको थिएनन् । २० वर्षको उमेरदेखि नै बेपत्ता दीपकको घर परिवार र गाउँले पुरै आशा मारिसकेको थियो तर, हराएको ३२ वर्षपछि (२०६९ साल) मा भारतबाट दीपककै नाममा घरमा एउटा चिठी आयो। त्यसमा लेखिएको थियो– म भारतको जेलमा छु। चिठीले उमेर ढल्किसकेकी आमासहित परिवारजनमा दीपक जिउँदै छन् कि भन्ने आशा त पलायो तर, त्यो चिठी दीपकले नै लेखेका हुन् या होइनन् भन्ने यकिन नभएको उनका काकाको छोरा प्रकाश शर्मा तिम्सिनाले बताए ।

त्यसपछि प्रकाशलगायतका व्यक्तिले दीपकको थप खोजी सुरु गरे। परिवारजनलाई दीपकसम्म पुग्न विश्व सेवा विस्तार संस्था र संस्थाका इन्द्र बस्नेतले सकेसम्म सहयोग गरे। प्रकाश भन्छन्, “दीपक दाइलाई भेट्टाउन नेपाल र भारतका कानुन व्यवसायी, पत्रकार, सञ्चार संस्थालगायत ज–जसले सहयोग गरे, उनीहरूको सूची बनाउने हो भने निकै लामो हुन्छ । हामीले सपनामा पनि कल्पना नगरेका दाइलाई जीवित पाउँदा बिपना नै सपना जस्तो लाग्दोरहेछ ।” दीपक कसरी यत्रो समय जेल बस्न बाध्य भए भन्ने यकिन छैन् । प्रकाशचन्द्रले सुने अनुसार दीपक घरबाट हिँडेपछि दार्जिलिङको चिया बगानमा काम गर्न थाले । त्यही क्रममा एक महिलाको हत्या आरोपमा उनी जेल परेका हुन् तर, उनी आफँैंले कसैको हत्या गरेको वा अरूले गरेको हत्यामा मुछिएको भन्ने स्पष्ट बुझ्न नपाएको प्रकाशले बताए ।

“जेल पर्नुमा ३–४वटा फरक–फरक कारण सुनियो, ठ्याक्कै के हो भन्न सकिएन,”– प्रकाशले भने । सबैको प्रयासले दाजु त्यहाँ हुनुहुन्छ भन्नेसम्म त पत्ता लागेको र उहाँलाई छुटाउन विभिन्न कानुन व्यवसायीले प्रयास गरिरहेको प्रकाशले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर