Aamsanchar

सुत्केरीको मृत्यु, कारण बन्यो हेलिकप्टर प्रयोग प्रक्रिया

Author Image
शुक्रवार, भदौ ११, २०७८

उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ। सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन्।

चुमनुब्री–६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो। ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ। सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो।’ सो गाउँमा बाक्लो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो।

सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो।

बिहीबार बिहानैदेखि हेलिकप्टरका लागि प्रक्रिया थालिएको थियो। तर, दिउँसो ३ बजेसम्म पनि उपलब्ध हुन सकेन। पर्खदापर्खंदै महिलाको मृत्यु भयो। हेलिकप्टरका लागि स्वास्थ्यचौकीले स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्।

‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उनले भनिन्, ‘सबै निकायबाट जतिसक्दो चाँडो प्रयास त गरेकै हौं।’

हेलिकप्टरमार्फत उद्धार गरिदिन आफूलाई साढे १२ बजे खबर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए। गाउँपालिकाबाट प्रशासन कार्यालयमा सवा १ बजे खबर प्राप्त भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए। ‘मैले सबै प्रक्रिया पूरा गरी महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दा २ बजेको थियो’, रोकाले भने।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर