Aamsanchar

‘पिता प्रसन्न भए सबै देवता प्रसन्न हुन्छन्’

Author Image
मङ्गलवार, भदौ २२, २०७८

पिता प्रसन्न भए सबै देवता प्रसन्न हुन्छन् भनिन्छ – “पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।”

बाबुका वचन पालन गर्ने कहिल्यै दीन-हीन हुन्नन् भनिएको छ – “पितु र्हि वचनं कुर्वन् न कश्चिन्नाम हीयते” ।

पिताको दोषले सन्तान मूर्ख हुन्छन् पनि भनिएको छ – “पितृदोषेण मूर्खता” । ऋणमा डुबाइदिने बाबुचाहिँ शत्रु नै हो पनि भनिन्छ –“ऋणकर्ता पिता शत्रुः” । यी सूक्तिमा सदाचारी बाबुको प्रशंसा र दुराचारी बाबुको निन्दा गरिएको छ ।

नानी जन्मनुबित्तिकै तीनवटा ऋण लागेकै हुन्छ भन्ने कुरा सनातन संस्कृतिले मानिआएको छ – देवऋण, ऋषिऋण र पितृऋण ।

देवऋण पूजा र मानव सेवा गरेर तिरिन्छ, ऋषिऋण पढेर ज्ञानी भएमा तिरिन्छ भने पितृऋणचाहिँ कुलधर्म पालन गरेर योग्य नागरिक जन्माएर तिरिन्छ । पितृऋण भनेको पूर्वजहरूको ऋण हो । उनीहरूले देखाएको धर्मको बाटो नबिराईकन हिँड़्ने निदेश शास्त्रले दिएका छन् ।

पितृऋणभित्रै ब्रह्माऋण पनि पर्दछ । ब्रह्मालाई परमपिता मानिएको छ किनभने उनकै सन्तान मानव हुन् भन्ने विश्वास छ । बाबुले सबै छोराछोरीलाई एकनासे प्रेम गरेका हुन्छन् । बाबुमा उदार चरित्र हुन्छ । उदार चरित्र हुनेले संसारका सबै प्राणीलाई एउटै परिवार ठान्दछ – “उदार चरितानां च वसुधैव कुटुम्बकम् ।”

ब्रह्माका छोराछोरी कोही ब्राह्मण भए, कोही क्षत्रिय, कोही वैश्य, कोही शुद्र । जेठो छेरोले बाबुलाई धन कमाउन सघाए वैश्य भएस माहिलो भुसतिघ्रे छ र क्षेत्रको रक्षा गर्छ – ऊ क्षत्रियस साइँलो पढाइमा राम्रो छ – ब्राह्मणस कान्छोमा शिल्पविद्या छ – ऊ शुद्र । परिवार यसरी चल्ने हो । शरीरमा पनि चार भाग छन् – मुख्य ज्ञानेन्द्रिय र मस्तिष्क भएको टाउको ब्राह्मण, हात र छात्ती क्षत्रिय, पाचन र प्रजनन व्यापार गर्ने पेट र गुप्ताङ्ग वैश्य अनि जसको भरमा शरीर उभिन्छ त्यो शुद्र ।

शरीर, परिवार र समाज ब्रह्माका चारै वर्गका छोराछोरीले चल्ने हो । भारतमा सबै नीति चारै अङ्गले चल्दथे । देशलाई आमा र ब्रह्मालाई पिता मान्दथे । मिलिमिली काम हुन्थे । विदेशी अतिक्रमण भएपछि भारतीय मिलेका मन पराएनन्, तब वर्णलाई ठूलो-सानो भनेर सवर्ण र दलितमा विभाजन ल्याइदिए । पहिले संसारै एउटै बाबुका सन्तानले चलाउने हो भन्ने मान्दथे ।

भारतमा चाहिँ वर्ण विभाजनलाई भेदभावको पाठ विदेशीले पढाउँदा भारतीयले पत्याए । पश्चिमी समाज त अझ पनि ब्रह्माकै सन्तान भएरै चल्दैछ । वर्णभेद कहाँ हुँदैन र १ पश्चिममा पनि वर्णप्रथा त छँदैछ – गाड़ी चलाउनेलाई विमान चलाउन दिइँदैन, पिज्जा बनाएर जीविका चलाउनेलाई विश्वविद्यालयमा प्रध्यापक बनाउँदैनन्, श्रमिक र कृषकलाई एकैचोटि न्यायालयमा न्यायाधीश बनाउँदैनन् । समाजवाद आए पनि, अस्तित्ववाद आए पनि डिभिजन अब् लेबर प्रथा संसारभरि नै हुन्छ । परमपिता एउटै हुन् भन्ने सम्झे जातभेद, वर्णभेद, लिङ्गभेद रहनेछैन । आज फादर्स डे-को महत्त्व यसैमा छ ।

बाबुको धर्म सन्तानलाई संरक्षण दिनु हो । तब नानीहरूबाट सप्रेमा बुढेसकालमा नानीहरूबाट स्याहार पाइने हुन्छ । बाबु हुनलाई नानी नै जन्माउनुपर्छ भन्ने पनि छैन । शास्त्रले विभिन्न थरीका बाबुलाई स्वीकृति दिएको छ –

(क) नरले आफ्नो शुक्राणु नारीको अण्डाणुमा मिलाएर गर्भाधान गराई जन्माएको नानी जैविक (बायोलजिकल) हो । नानीको लिङ्ग पनि बाबुकै शुक्राणुको भरमा निर्धारित हुँदछ भन्ने कुरा विज्ञानले मान्दछ ।

(ख) प्राकृत पुत्र-पुत्रीको अभावमा दत्तक पुत्र-पुत्रीलाई काख लिने प्रथा पनि शास्त्रमा छ । स्वाभाविक पुत्र-पुत्री भए पनि राम्रो व्यक्तित्व भएका बालकलाई काख लिने प्रथा पनि थियो । विश्वामित्रले शुनस्शेपलाई ग्रहण गर्नु यसको उदाहरण हो । एउटा वर्णका बाबु-आमाले अन्य वर्णका नानीलाई पनि ग्रहण गर्दथे भन्ने उदाहरण विश्वामित्रले प्रस्तुत गरेका छन् – विश्वामित्र क्षत्रिय तथा शुनस्शेप ब्राह्मण थिए ।

(ग) नानी चाहिनेले छोरीको छोरो वा छोरीलाई काख लिन पाउने प्रवधान पनि थियो, त्यस्ता नानीलाई पुत्रिका भनिन्थ्यो ।

(घ) अचेल पत्नीले जैविक शिशु जन्माउन नसके कृत्रिम(गर्भाधान (सर्रोगेट) बाट शिशु जन्माउने प्रथा विज्ञानले सम्भव बनाएपछि देश-विदेशका विधिले पनि स्वीकृति दिइरकेका छन् ।

(ङ) कति झड़्केला छोरा-छोरीका बाबु पनि हुन्छन् । पारपाचुके भएका वा विधवा भएका महिलाका पहिलेका पतिबाट छोराछोरी लिएर पनि बाबु बन्दछन् । कति जसरी भए पनि बाबु बनिएपछि बाबुको कर्तव्य वहन गर्नैपर्ने हुन्छ ।

त्यसैले उपनिषद्‌मा नानीलाई आध्यात्मिक शिक्षा दिनू भन्ने निदेशन पाइन्छ, नीति ग्रन्थहरूमा नानीहरूलाई सदाचारी बनाउने सन्मार्ग देखाइएका हुन्छन् । कति बाबु शिक्षक भए छोरा-छोरीलाई शिष्य वा शिष्या बनाएर विद्यार्थीकै अनुशासनमा राख्नुपर्ने प्रावधान पनि थियो । यसको उदाहरण उपनिषद्‌मा बाबु वरुण र शिष्य आफ्नै छोरो भृगु हुनु, महाभारतमा आचार्य द्रोणको शिष्य छोरो अश्वत्थामा हुनुबाट छर्लङ्ग हुँदछ ।

बाबु बनिसकेपछि तमिलले अप्पा, मलयीले आकन, तेलुगूले तनडुरी, कन्नड़ले तानड़े, बङ्गालीले बाबा, उर्दूले अब्बू, गोर्खाले बाबु, बुवा, बा, आप्पा, पापा भन्छन् । संस्कृतमा पिताका पर्याय जनक, तात, परम आदि छन् ।

ग्रीकमा पातर, ल्याटिनमा पातर् वा पाद्री, पुरानो आइरिसमा फादर, जर्मनमा फादेर र अङ्ग्रेजीमा फादर भनिन्छ । अचेल भारत-नेपालका धेरै घरमा जिउँदै आमा-बाबुलाई ममी र डेड भन्न थालेका छन् । मिस्रदेशमा मृतदेहलाई रसायण लगाएर कैञौ वर्षसम्म नकुहुवाई राखेको ममी हो भने डेड भनेको मृत हो ।

बाबु नरिवलजस्तो हुनुपर्छ पनि भनिएको छ – बाहिर चाम्रो र भित्र राम्रो – बाहिर रुखो भित्र रसिलो । बाबुको दुर्बलता छोरी हुन्छ भन्ने भारतीय मान्यतालाई बीसौँ शताब्दीका मनोवैज्ञानिक फ्रायडले मातृरति ग्रन्थि (इलेक्ट्रा कम्प्लेक्स) सिद्धान्तबाट सिद्ध गरिदिएका छन् ।

कुलधर्म पालन गर्नमा अक्षम हुने ठानेर छोरी चाहिँदै नचाहिने भन्ने द्रुपदले पुत्रेष्टि क्रिया गर्दा पनि पुत्री नै पाए – द्रौपदी । छोरीलाई कष्टकर जीवनको वरदान दिए तर कालान्तरमा पुत्रीमोहमा वशीभूत बने । बाबु छोरोसँग चाहिँ छुच्चो हुने कारण पनि विज्ञानले ‘लाइक पोल रिपेल’ भनेर सिद्ध गरेको त छ तर बाबु बाहिर मात्र छुच्चो हुन सक्दछ तर भित्र लचिलो नै हुन्छन् भनिन्छ । छोरोलाई छुच्याइ गर्ने बाबुलाई पनि छोरोले नटेरेका उदाहरण संस्कृत ग्रन्थमा पाइन्छ । नेपालीमा पौराणिक कथालाई लिएर बालकृष्ण समले रचेको प्रसिद्ध नाटक ‘प्रह्लाद’ मा एक ठाउँ हिरण्यकशिपुले भन्छन् –
छोराहरू बिग्रन्छन् भने बिग्रन्छन् आमाका चाटचुटले ।
सप्रन्छन् भने सप्रन्छन् बाबुका चुटचाटले ।
घरको दर्शनभित्र पनि आमाको ममता, बाबुको भय, दाजु-भाइको भर र दिदी(बहिनीको माया नभएको घर घर हुँदैन । घरलाई स्थानापन्न गर्ने अर्को शब्द बिरलै होला । तर नयाँ पुस्तामा विकसित हुँदै गएको स्वभावले यस दर्शनलाई धेरै घच्च गर्दैछ, जुन राम्रो सङ्केत होइन । फेसबुक र वाट्सएपका भित्ताभरि छाञाछवि टाँसेर परावास्तविक प्रीतिको प्रदर्शनका भरमा आमा-बाबुप्रति आदर गर्ने विश्वकै एकमात्र सुपुत्र-सुपुत्री ठान्नेहरूको हाँच हुर्कँदो छ ।

अर्को कुरो, छोराछोरी अङ्कुशे नै नलाग्ने निरङ्कुश र भुइँफुट्टा भएर कुकर्ममा लागे बाबुको मुख हेर्ने दिनमा त के कुनै पनि दिनमा बाबुले मुख देखाइसक्नु हुँदैन । मुख मर्यादा, गौरव र गरिमाको प्रतीक हो । बाबु र छोरा-छोरी गौरवी र सौरभी भए मात्र मुख देखाउन र हेर्न योग्य हुन्छन् । बाबु र छोरा-छोरी सदाचारी भए मुख देखाउने हेर्ने देख्ने पर्व सार्थक हुँदछ । छोराछोरीले बाको नाक राखे बाको मुख हेर्दा बाको निधार उज्यालो हुन्छ, तब गालामा सन्तोषको लाली चढ्दछ, ओठमा मुस्कान भरिन्छ, गर्वले छात्ती फुलिन्छ, शिर ठाड़ो हुन्छ, छोराछोरीका उन्नति सुनेर कान अनि उन्नति देखेर बाका आँखा धन्य हुन्छन् । बाको शिर झुकाउने काम कहिल्यै गर्नु हुँदैन ।

धेरै बाबु छुच्चा हुन्छन् । लोलोपोतो गर्दैनन् तर छोराछोरी भनेपछि भित्रबाट कमलो नहुने बाबु थोरै हुन्छन् । कति बाबु पुत्र मोहान्ध पनि हुन्छन् धृतराष्ट्रजस्तो । बद्लँदो परिस्थितिमा रक्षक बाबु भक्षक भएका समाचार पनि पढ्न पाइन्छ । कति परिवारमा बाबुबाट छोरी असुरक्षित भएका घटनाले वर्तमानलाई विस्मयकारी बनाएको पनि छ । ती मनोरोगी कामुक पिताका कुरा त शुभ पर्वमा किन पो गर्नु !

ब्रह्मालाई परमपिता मानिने विश्वमा कुपिता त्यज्य नै हुन्छन् । साँचा बाबुले आफ्नो दुःख लुकाएर पनि सन्तानलाई सुख दिने प्रयास गरिरहेकै हुन्छन् । ती बाबुले “मनका बह कसैलाई नकह” भन्ने ठान्दछन् । प्यारा पिता निःस्वार्थ भावनाका मूर्ति हुन्छन् र पालनहार । समयसित तर मानिसले ती समर्पण र प्रेम भुल्नेगर्दछन् । मानिसलाई पिताको प्रेम र उनका त्याग भावनालाई सम्झाउन पितृदिवस पालन गरिन्छ । बाबु भेट्न पाउने भाग्यमानीहरूले बाबुलाई प्रसन्न राख्न सुस्वादु आहार, मिष्टान्न र फलफूल चढाउने गर्दछन् । टाड़ामा भएका बाबुलाई अचेल फोन गरेर हुन्छ कि एसएमएस गरेर हुन्छ कि सामाजिक सञ्जालका माध्यमबाट पनि सम्पर्क गर्ने गर्दछन् । अचेल परावास्तविक विश्व -भर्चुवल वर्ल्ड मा के-के छन् के-के । बाबु नहुनेले खोला, नदी वा मन्दिरमा गएर तर्पण गर्ने गर्दछन् । जे होस् सम्झन्छन् ।

आज कुसे औँसीमा देवकार्य वा पितृ कार्यमा चाहिने कुश घरमा ल्याइराख्ने दिन हो । पुरोहितले घरघर पुर्याधइदिने चलन त छँदैछ । कुशका जरामा औषधीय गुण हुनेहुनाले आयुर्वेदमा कुशलाई पवित्र उद्‌भिद् मानिन्छ । पूजा-व्रतादिमा कुशको औँठी लाएर देवकार्य गर्ने गरिन्छ । कुश काट्न सिपालुलाई पहिले कुशल भनिन्थ्यो । यो शब्द कालान्तरमा अर्थ विस्तार भएर कुशल भनेको सिपालु वा प्रवीण भन्ने बुझिने भएको छ । कुशलाई क्रोध शमन गर्ने मानिएको हुनाले देवता, राजाहरू मात्र नभई देवताका प्रतिमा स्थापना गर्दा कुशका आसन बनाइन्छन् । ध्यान, जप, आसन, प्राणायाम गर्दा पनि कुशमा बस्ने चलन छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१