Aamsanchar

मौरी पालेरै शहरमा घर–घडेरी,छोराछोरीलाई मास्टर्स डिग्री

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

१७ वर्षअघि मोरङ उर्लाबारी-९ छिन्ताङ्गे टोलकी गोमादेवी दाहाललाई लाग्थ्यो– मौरी पालेर पनि के आम्दानी होला र रु तर अहिले उनी घरमै बसेर मासिक ५० हजार रूपैयाँभन्दा बढी कमाउन सक्ने भएकी छिन्।

हिम्मत नहारी परिश्रम गरेकी दाहालले मौरी पालेको आम्दानीले घरखर्च मात्र चलाएकी छैनन्, मह बेचेर छोरालाई मास्टर्स डिग्रीसम्म पढाइसकेकी छिन्। शहरमा घर, घडेरी जोडेकी छिन्।

सुनसरीको तरहराबाट चार हजार ५ सय रुपैयाँमा किनेर ल्याएको एक घार मौरी बढदै गएर अहिले १५० घार पुगेको छ। उनलाई यतिबेला सबैले सफल मौरीपालक कृषक भनेर चिन्छन्। जिल्ला कृषि विकास कार्यालय मोरङको सहयोगमा तालिम लिएपछि उनी यो पेशामा लागेकी हुन्।

सुरुवाती दिनमा मौरी पाल्दा उनलाई स्थानीय स्तरबाट खासै साथ सहयोग मिलेन। मौरी पालेर पनि के पैसा कमाइएला भनेर केहीले गिज्याए पनि। नानीहरुलाई मौरीले टोके, तोरीमा सबै माहुरी चर्दा तोरी फल्दैन भन्दै स्थानीयले उनलाई गाली गौलजसमेत गरे। ‘अहिले छरछिमेक सबैले गोमाले गर्दा शुद्धमह खान पाइएको छ भन्दै स्यावासी दिन्छन्’, गोमादेवीलेले बिएल नेपाली सेवासँग भनिन्।

परिवार र गाउँलेको आलोचना खेपेकी गोमादेवी अहिले सबैका लागि प्रेरणाको स्रोत बनेकी छिन्। मौरीको धुनसँग रमाउन थालेको र मौरीसँग माया बसेको अढाई दशक नाघेको गोमादेवी बताउँछिन्।

‘मौरीपालन एउटा राम्रो व्यवसाय हो। यो व्यवसायलाई सरकारले व्यवस्थित गर्नुपर्छ। मौरीबाट उत्पादित सामग्री विश्वबजारमा व्यापार गर्न सकिन्छ,’ उनले भनिन्,‘कृषिमा तत्काल फाइदाभन्दा व्यवसायमा टिक्नु ठूलो विषय हो। मौरीपालनबाट आय स्रोत राम्रो छ। तर, धेरै खट्नुपर्छ। मौरीपालनले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँछ।’

बिहान उठेदेखि साँझसम्म मौरीसँगै रमाउने गोमादेवीको आँगनदेखि घर अगाडि रहेको बारीमा टन्नै रहेका मौरीका घार र मौरीको गाइँगुइँ आवजले त्यहाँ पुग्ने जो कोहीको मनलाई आनन्दित तुल्याउँछ।

१७ वर्षदेखि निरन्तर मौरीपालन गर्दै आएकी उनले वार्षिक १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छिन्। उनले आफ्नै घरमा ‘राजघाट मौरीपालन उद्योग’ स्थापना गरेकी छन्। उद्योगबाट उनले करिब दुई हजार घार मौरी बिक्री गरिसकेको जानकारी दिइन्। सामान्य लगानीमा सुरु गरेको व्यवसायले राम्रो आम्दानी दिन थालेपछि गोमादेवीलाई सघाउन रोजगारीका लागि विदेशमा रहेका श्रीमान् घर फर्किएका छन्। परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि दाहाल परिवार खुशी छ।

४१औं खाद्य दिवसको दिन उत्कृष्ट एपिस मेलिफेरा पालन गर्ने कृषक तर्फबाट गोमादेवीले राष्ट्रियस्तरमा प्रथम पुरस्कार समेत जित्न सफल भइसकेकी छिन्।

मह र मौरीको घार बेचेर वार्षिक १५ लाखसम्मको कारोबार गर्दै आएको उनले बताइन्। त्यसमध्ये सबै खर्च कटाएर वार्षिक ७ लाखसम्म बचत हुने गरेको उनले सुनाइन्। तोरीको मह ६ सय तथा जंगलको मह प्रतिकेजी १ हजार रुपैयाँसम्म बेच्ने गरेको उनले बताइन्। उनको मह स्थानीय बजारहरूमै खपत हुने गरेको छ।

१२ वर्षसम्म विदेशमा रोजगारी गरेर फर्किएका उनका श्रीमान गंगाराम दाहाल अहिले गोमादेवीको सक्रिय सहयोगी बनेका छन्। ‘राज्यले सहयोग गरे महलाई आधुनिक रूपमा प्रशोधन गरेर विदेश पठाउन सकियो भने थप आम्दानी गर्न सकिन्थ्यो,’ गोमादेवीले भनिन्, ‘मौरीपालक कृषकको आवाज कसैले सुनेको छैन।’

चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ। असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने उनीहरूको भनाइ छ। जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन्। तोरी, दालचिनी, चिउरी लगायतका फूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन्। मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा किरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ।

नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ। नेपाली महले विश्वबजारमा अर्ग्यानिक, प्राकृतिक र हर्वलको पहिचानका रूपमा स्थापित गर्दै गएको छ। सबैभन्दा महँगो मह भिरमौरीको हो। नेपालमा मेलिफेरा, सेरेना, कठ्यौरी, भिरमौरी र सिनकुश, खागो जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ। नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब वार्षिक १ करोड रुपैयाँको मह आयात गरेको छ।

महको हब बन्दै उर्लाबारी

उर्लाबारी नगरको प्रमुख पहिचान यहाँ उत्पादित मह बन्दै गएको छ। उर्लाबारीमा एउटा मौरीपालन सहकारी संस्था, २ वटा मौरीपालन समूह र एउटा मौरीपालन स्रोत केन्द्र रहेका छन्। ५१ जना किसान मौरीपालनमा प्रत्यक्ष संलग्न रहेका छन् भने उनीहरूसँग १ हजार ३४५ घार मौरी रहेका छन्।

मेलिफेरा मौरीपालन सहकारी संस्थाका अध्यक्ष बोधराज खतिवडाका अनुसार उर्लाबारीका मौरीपालक किसानले वार्षिक २५ हजार किलो मह उत्पादन गर्दै आएका छन्। किसानले महबाट मात्र १ करोड ५० लाख रुपियाँ प्राप्त गरिरहेका छन्। गतवर्ष महको उत्पादन अझ बढ्यो। तर, उत्पादन भएको सबै मह बिक्री हुन सकेन।

किसानको माग अनुसार नगरले सहयोग गरे उत्पादन दोब्बर गर्न सकिने खड्काले बताए। उर्लाबारी नगरका किसानले वार्षिक ३५ देखि ४० लाख रुपियाँको मौरीको गोला मात्रै बिक्री गर्दै आएको उनको भनाइ छ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर