Aamsanchar

झापामा उद्घाटन भयो राष्ट्रसेवक भवन

Author Image
आइतवार, पौष २५, २०७८

चन्द्रगढी । झापाको भद्रपुर नगरपालिका चन्द्रगढीमा सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गरिएको छ ।

आइतबार (आज) नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलालेख अनावरण र रिवन काटेर उद्घाटन गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा सुरु भएको भवनको २०७० साल माघ ५ गते ओलीले नै शिलन्यास गरेको थिए ।

२०६९/७० मा एक करोड ८८ लाख नौ हजार पाँचसय ७० रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणमा भूइँतला निर्माणमा एक करोड १२ लाख २१ हजार ९४ रुपिया १२ पैसा, दोस्रो तला निर्माणमा ८२ लाख ७८ हजार सात सय २१ रुपियाँ गरी जम्मा एक करोड ९४ लाख ९९ हजार सात सय २९ रुपियाँ ३३ पैसा खर्च भएको आज आयोजित कार्यक्रममा निर्माण समितिले बताएको छ ।

त्यसैगरी भवनको अगाडीको फलामे लिस्नो, पक्की घेराबारा, सवारी पार्किङ स्थल, भान्छा कोठा, टायल्स तथा मार्वल जडानमा अतिरिक्त २२ लाख २७ हजार नौ सय ७१ रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

भवन निर्माणको लागि विभिन्न संघ संस्थाहरुले रकम सहयोग गरेका छन् । रकम सहयोग गर्ने संस्थाहरुमा राष्ट्रसेवक सहकारी संस्था ५० लाख, शान्ति मन्त्रालय २८ लाख सात हजार एकसय, तत्कालिन जिल्ला विकास समिति झापा तिन लाख ८२ हजार एक सय ८० रुपियाँ, सांसद विकास कोषबाट एक लाख ९६ हजार दुई सय ५० रुपियाँ, जिल्ला प्राविधिक कार्यालय झापा एक लाख ९० हजार, भद्रपुर नगरपालिका १ लाख ४६ हजार दुईसय ५० रुपियाँ, ३२८ जना व्यक्ति दाताहरुबाट ४२ लाख ४१ हजार छ सय १३ रुपियाँ, राष्ट्रसेवक सहकारीबाट ऋण ५२ लाख ५० हजार गरि दुई करोड सात लाख ६२ हजार तिन सय ९३ रुपियाँको श्रोत जुटेको थियो । भवन निर्माणमा भने २ करोड १० लाख ३७ हजार पाँच सय ४१ रुपियाँ खर्च भएको र भुक्तानी गर्न बाँकी २ लाख ७५ हजार एक सय ४८ रुपियाँ रहेको भवन निर्माण समितिले बताएको छ ।

२ कठ्ठा १५ धुर क्षेत्रफलमा रहेको भवन भद्रपुर चन्द्रगढीको गहनाको रुपमा स्थापना भएको छ ।

सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शर्माले भवन निर्माण कार्यमा तन,मन,धन र कर्मले लागिपर्नेहरुलाई धन्यवाद दिएका छन् । ओलीले मन्तव्यको क्रममा नेपाली काँग्रेस तर्फ इसारा गर्दै ‘लोकतान्त्रिक मुल्य मान्यतामा आफ्ना निकट, जनवर्गीय संगठनहरुलाई लोकतान्त्रिक पद्धती भन्दा पर गएर दुरुपयोग गराउने परिपाटी हामिले देखेका छौं ।’ ‘अहिले सरकारमा रहेको पाटीले हामि सरकारमा रहेको वेला असहयोग गर्न भनेर कर्मचारीलाई निर्देशन दियो ।’ ‘त्यो तानासायी आन्दोलन केही समय चल्न सक्छ तर दिर्घकालिन रुपमा चल्न सक्दैन, अवधी तोकेर निर्णायक आन्दोलन गर्न सकिएला नत्र यस्तो गर्न मिल्दैन, कर्मचारी सम्यन्त्र जनतालाई सेवा पुर्याउने सम्यन्त्र हो ।’

बोल्ने क्रममा कर्मचारी तर्फ पनि आक्रोसित बन्दै ओलीले भने ‘तपाईंहरुलाई लाग्छ होला बहादुरी गरेका छौं । बहादुरी होइन गैरकानूनी काम गरिरहनु भएको छ, अधिनायवाद काम, लोकतन्त्रको विरुद्ध क्रियाकलाव गरिरहनु भएको छ, त्यसो नगर्नुहोस् ।’

भवन उद्घाटन समारोहमा भवन निर्माणर्थ सबैभन्दा धेरै रकम सहयोग गर्ने दता विनोद पोखरेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जान लागेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई विधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको ११ औं महाअधिवेशन आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्यसहित निर्माण सम्बन्धी संक्षिप्त प्रतिवेदन बाचन निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलले गरेका थिए ।
उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्यहरु देवराज घिमिरे, अग्नी खरेल, हिक्मत कार्की, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वशिष्ठ अधिकारीले गरेका थिए ।

Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर