Aamsanchar

कार्यकर्ताले सूर्यमा भोट नहाल्ने हुन कि भन्ने चिन्तामा कमल थापा

Author Image
शुक्रवार, असोज २८, २०७९


एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नै कार्यकर्ताबाट चिन्तित देखिएका छन् । थापालाई एमाले कार्यकर्ता फकाउन मात्र होइन, आफ्नै कार्यकर्तालाई सूर्य चिह्नमा मतदान गराउनसमेत निरन्तर फकाउनु परिरहेको छ ।

आफ्नो व्यक्तिगत स्वार्थअनुकुल लगातार पार्टी बदलिरहने स्वभावका कारण यसपटक थापाका कार्यकर्ता उनीसँगै सशंकित देखिएका छन् । बुधबार हेटौँडामा राप्रपा नेपालले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागी थुप्रैले थापामाथि त्यस्तै संशय व्यक्त गरे ।

राप्रपा परित्याग गरी राप्रपा नेपाल निर्माण गरेपछि अध्यक्ष नै एमालेको चुनाव चिह्न लिएर मैदानमा उत्रिँदा आफूहरूको पार्टीको अस्तित्व नै नरहने हो कि भन्ने चिन्ता उनीहरूले व्यक्त गरेका थिए । एमालेको विचार र नीतिमा सहमत भएपछि थापालाई सूर्य चुनाव चिह्न दिन एमाले अध्यक्ष केपी ओली तयार भएको खबर आइरहेको भन्दै केहीले निर्वाचनपछि कतै एमाले नै बन्नुपर्ने अवस्था आउने हो कि भन्ने आशंकासमेत केहीले व्यक्त गरेको एक सहभागीले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै थापाले कार्यकर्ताहरूलाई पटकपटक ढुक्कसँग सूर्य चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका थिए । थापाले आफ्ना कार्यकर्तालाई मनाउन सूर्य चिह्न लिएर चुनावमा सहभागी हुन पाउनु गर्वको विषय भएको पटकपटक सुनाउनु परेको थियो ।

‘मैले यसपटक जित्नै पर्ने भएकाले एमालेको लोकप्रिय चुनाव चिह्न सूर्य लिएर चुनावमा उठेको हुँ । मैले सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य ठानेको छु,’ उनले भने, ‘एउटा राष्ट्रवादी पार्टीले अर्को राष्ट्रवादी पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनाव चिह्न सूर्यमा मतदान गर्न पाउनु राप्रपा नेपालका कार्यकर्ता पनि भाग्यमानी भएको मैले ठानेको छु ।’

उनले एमालेको भोटले आफू जितेको देख्न चाहने हो भने राप्रपा नेपालका कार्यकर्ताले पनि सूर्यमा भोट हाल्न सक्नुपर्ने बताए । राप्रपा नेपालको कार्यकर्ता भेला भए पनि त्यहाँ एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभाका लागि मकवानपुर १ (ख)उम्मेदवार बनेका एकलाल श्रेष्ठ पनि उपस्थित थिए । उनले अब छुट्टाछुट्टै भेला र कार्यक्रम गर्नुभन्दा एकै ठाउँमा हिँड्ने वातावरण बनाउनुपर्ने बताए ।

पार्टी केन्द्रको निर्णयमा थापा सूर्य चुनाव चिह्नमा उठे पनि जिल्लाका एमाले नेता–कार्यकर्ता अझै पनि थापाको पक्षमा खुल्न सकेका छैनन् । यस्तोमा आफ्नै कार्यकर्ताले पनि सूर्यमा भोट नहाल्ने हुन कि भन्ने चिन्ता थापामा देखिएको छ ।  यो समाचार आजको नयाँ पत्रिकामा पोष्टराज अधिकारीले लेखेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर