Aamsanchar

कनकाईकी तुलसा अधिकारी ७३ वर्ष उमेरमा पनि अनागरिक, विद्युत मिटर नपाउँदा समस्यामा

Author Image
सोमवार, असार ३१, २०८१

कनकाई । झापा कनकाई नगरपालिका –१ प्रजापतिकी ७३ वर्षीय तुलसा अधिकारीको नागरिकता नहुँदा जीवन यापनमा समस्या आईपरेको छ ।
नागरिकता नभएको कारण विद्युत लाइन जडान गर्न नपाएको, सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिनबाट बञ्चित हुनु परेको भन्दै तुलसा अधिकारीले दुखेसो पोखेकी छन् ।

तुलसाकै उमेर समूहका नागरिकहरू हातमा सामाजिक सुरक्षा भत्ता कार्ड बोकेर बैँक तिर धाएको देख्दा आमैको मन कुँडिने गरेको छ, कहिले रुदै गरेको देख्छु, सहारा विहीनको लागि बोलिदिने गरिदिने कोही विधाता कहिले आइपुग्लान् भन्दै तुलसाले हरेक दिन भगवान पुकार गर्ने गरेको छिमेकी दीपक घिमिरेले बताए ।

तुलसा अधिकारीका छोराको भने बसोबासको आधारमा नागरिकता बनेको छ । छोरा मुद्दा मामिलाको कारण हाल जेलमा रहेका छन् । नागरिकता भएको छोरा जेलमा पर्नु र आफ्नो नागरिकता नहुँदा विजुली मिटर समेत जडान गर्न नपाइएको तुलसाको भनाई छ ।

उता उज्यालो नगर घोषणाको तयारीमा रहेको कनकाई नगरपालिकाका नागरिकको घरमा विद्युत मिटर नै जडान हुन सकेको छैन त भनेर आमसंचारले वडाध्यक्ष सुशील पोखरेललाई राखेको प्रश्नमा, वडाध्यक्ष पोखरेलले मिटर जडानको लागि प्रक्रिया अघि बढेको र केही दिनमै तुलसा अधिकारीको घरमा मिटर जडान गराउने पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता प्रदान गरिएको छ । तर झापा त्यसमा पनि शिक्षा र न्यायको हिसाबले अग्रणी नगरपालिकाको रुपमा चिनिएको कनकाई नगरपालिकामा एक ज्येष्ठ महिलाले नागरिकता नभएकै कारण जीवन यापनमा भोग्नु परेको कठिन विषयलाई स्थानीय सरकारले सामान्य रुपमा  लिनुनहुने ज्येष्ठ महिला तुलसा अधिकारीकी छोरी गोमा अधिकारीको भनाई छ । उनले भनिन ‘हरेक चुनाबको बेला आमाको नागरिकता बन्नु पर्छ बन्छ भन्दै घरदैलोमा नेताहरू आउने गरेको तर चुनाव सकिएपछि नेताहरू सम्पर्क विहीन बन्ने गरेका छन् । आमाको नागरिकताका लागि सिफारिस गरिदिन वडाध्यक्ष र मेयरलाई आग्रह गरेको, आग्रहमा हुन्छ भैहाल्छ भन्ने जवाफ पाउने गरेको तर नागरिकता बनाइदिन किन हो आलटाल भइरहेको छ ?’

यस विषयमा तुलसाको नागरिकताका लागि किन सिफारिस नभएको भनेर वडाध्यक्ष पोखरेललाई प्रश्न राख्दा तुलसाको नागरिकताको लागि सनाखत गर्ने मान्छे नभएकोले फिफारिस गर्न नसकिएको हो, जिल्ला प्रशासन कार्यालयबाट सिफारिस पठाउदा हुन्छ भन्ने कुरा आयो भने तत्काल सिफारिस पठाउने व्यवस्था मिलाउने पाखेरेलको जवाफ रहेको छ ।

बनेपा धुलिखेलमा जन्मिएकी तुलसाको बाल्य अवस्था अभिभावक विहिनतामै बित्यो, उमेर पुगेपछि त्यस्तै अभिभावक विहीन चन्द्रप्रसाद अधिकारी सँंग विवाह गरेर केही समय भारतको असाममा जीवन यापन गरेर २०५० साल आजभन्दा ३१ बर्ष अगाडि साविक सुरुङ्गा गाविस १, हाल कनकाई नगरपालिका १ प्रजापतिमा बसोबास गर्दै आएकी तुलसा, छोराको नाममा जंगलको छेउमा रहेको ५ कठ्ठा जमिनमा सानो घरमा बसोबास गर्दै आएकी छन । उक्त घर सामुदायिक वनले बनाई दिएको हो ।

संविधानले नागरिकता दिने सुनिस्चितता गरेपनि धेरै नागरिकहरुमा नागरिकता लिनुपर्छ भन्ने चेनताको कमी र घर व्यवहारमा महिलाको अग्रसरता न्युन हुनेगरेको पुरानो अभ्यासका कारण हाल धेरै ज्येष्ठ महिलाहरु नागरिकता प्रयोग गर्नबाट बञ्चित बनेको अवस्था रहेको छ ।

विगत दुई दशक अघि सम्म सामाजिक, राजनैतिक र व्यवहारिक हक अधिकार प्राप्तीमा पुरुषहरु नै अगाडि थिए । सबै कामकाज पुरुष (श्रीमान) ले गर्ने हुदाँ महिला (श्रीमती) को नागरिकताको आवस्यकता पनि कम हुने गरेको थियो । तिनै कारणले गर्दा जानेर नजानेर कयौं महिलाहरुले नागरिकता बनाएनन, उनीहरुका श्रीमान, अभिभावकहरुले पनि नागरिकता बनाई दिएनन । यस विषयमा तत्कालिन सरकारको पनि ध्यान पुग्न सकेन ।

संविधानको मर्मलाई कार्यनयन गर्दै नागरिकहरुको मौलिक हक अधिकारको रक्षाका लागि सरकारले विभिन्न कार्यक्रम, सुविधाहरु ल्याए पछि यतिवेला नभई नहुने काजजात बन्न पुगेको छ नागरिकता । हिजोको दिनमा नागरिकता नलिने नागरिकहरू कतिपयले जन्मको ५० वर्ष पछाडि कानुनी मान्यताको  आधारमा नागरिकता बनाएका छन् । चेतनाको कमी, आर्थिक, सामाजिक रुपमा पहुच नभएका अभिभावक विहिनहरुको नागरिकता भने बन्न सकेको छैन । यस्तै पहुँच नपुगेको कारण कनकाईकी तुलसा अधिकारी ७ दशक उमेर पार गर्दा पनि आफ्नै देशमा अनागरिक बनेर बस्नु परेको अवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर