Aamsanchar

अग्रज पत्रकार नकुल काजी पाण्डे सम्मानित, रूपनारायण पाण्डे स्मृतिग्रन्थ विमोचन

Author Image
शनिवार, भदौ १, २०८१

बिर्तामोड । झापाका अग्रज पत्रकार नकुल काजी पाण्डे सम्मानित भएका छन् ।
पाण्डे बन्धु सेवासमिति जिल्ला कार्यसमिति झापाले आज (शनिबार) एक कार्यक्रमका बिच पत्रकार पाण्डेलाई सम्मान गरेको हो । पाण्डे बन्धु सेवा समिति केन्द्रीय अध्यक्ष युवराज पाण्डे, सेवा समिति केन्द्रीय  सदस्य पारिजात पाण्डेले पत्रकार पाण्डेलाई प्रमाण पत्र, नगद र दोसल्लाद्वारा सम्मान गरेका हुन ।

पत्रकारिता क्षेत्रमा विगत ६ दशकदेखि सक्रिय रहँदै देश र समाजको लागि ८० वर्षको उमेरमा पनि अनवरत रुपमा कलम चलाउँदै आएको, पाण्डे सेवा समितिको विधान मस्यौदा तथा तयारी समिति संयोजक तथा २०५९ सालमा केन्द्रीय सल्लाहकार र सेवा समितिको पहलमा रूपनारायण पाण्डे स्मृति ग्रन्थको सम्पादनको जिम्मेवारी पुरा गरेकोमा भद्रपुर १० निवासी पत्रकार पाण्डेलाई सम्मान गरिएको पाण्डे बन्धु सेवा समिति झापाका अध्यक्ष चिरञ्जीवी पाण्डेले बताए ।

सोही कार्यक्रममा सेवा समिति स्थापनाकालका सदस्य, पूर्व केन्द्रीय सचिव रूपनारायण पाण्डेलाई मरणोपरान्त समितिले सम्मान गरेको छ । देश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहेका पाण्डे बन्धुहरूलाई एउटै छानामुनि समेटने अभियानका एक अभियन्ता, पाण्डे बन्धुहरूको एक आदर्श पथप्रदर्शक रहनु भएको स्वर्गीय पाण्डेलाई सम्मान गरिएको सेवा समितिका उपाध्यक्ष जीपी पाण्डेले जानकारी दिए । पाण्डेको सम्मानपत्र श्रीमती पारिजात पाण्डे र छोरा प्रविण पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

रूपनारायण पाण्डेको प्रथम स्मृति दिवस कार्यक्रममा स्व. रूपनारायण पाण्डे स्मृतिग्रन्थको विमोचन गरिएको छ । कार्यक्रमका विशेष अतिथि केन्द्रीय अध्यक्ष युवराज पाण्डे र सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी पाण्डेले उक्त ग्रन्थको विमोचन गरेका छन् ।

त्यसैगरी स्व. रूपनारायण पाण्डेको स्मृतिमा अक्षयको स्थापना गरिएको छ । एक वर्ष अगाडि १ लाख रुपैयाँ को कोष स्थापना गरिएको थियो भने उक्त कोषमा यस वर्ष १ लाख ८ हजार ५ रुपैयाँ थप गरिएको छ । गत वर्षको कोषमा जम्मा रकमबाट प्राप्त ब्याज ले झापा अर्जुनधारा ६ निवासी विपन्न परिवारकी छात्रा तुलसा पाण्डेलाई शैक्षिक उन्नयनको लागि नगद ८ हजार रुपैयाँ प्रदान गरिएको छ । तुलसा बिर्तामोड स्थित देवी माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन ।

जिल्ला अध्यक्ष चिरञ्जीवी पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि महताराले कार्यव्यस्तता जनाउदै कार्यक्रम उद्‌घाटन गरेर कार्यक्रम स्थलबाट बिदा भएकी थिइन ।

जिल्ला अध्यक्ष चिरञ्जिवी पाण्डे ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष युवाराज पाण्डे, पूर्व केन्द्रीय अध्यक्ष तिलक पाण्डे, पूर्व जिल्ला अध्यक्ष हरि पाण्डे, सम्मानित नकुल काजी पाण्डेले मन्तव्य राखेका थिए । त्यसैगरी धनकुटा अध्यक्ष हेमराज पाण्डे, इलाम अध्यक्ष उपेन्द्रराज पाण्डे, बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, चुडाल बन्धु समाज झापाका अध्यक्ष प्रेम चुडाल, लालपानी माविका प्रधानाध्यापक बालकृष्ण प्रसाई लगायतले स्वर्गीय रूपनारायण पाण्डेलाई स्मरण गर्दै उनले बन्धु समाजका लागि गरेको काम र योगदानको चर्चा गरेका थिए ।

जिल्ला अध्यक्ष पाण्डेले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पाण्डे बन्धु सेवा समिति झापाका सचिव सुवास पाण्डेले गरेका थिए भने समापन मन्तव्य जिल्ला उपाध्यक्ष जीपी पाण्डेले राखेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर