Aamsanchar

लुटिएका सपनाहरू 

Author Image
मङ्गलवार, असोज २९, २०८१

हो प्रत्येक व्यक्ति यहाँ सपना सझाउछ,
मिठो अनि सुन्दर भविष्यको कल्पनामा हराउँछ ।

सपना जीवनको आशा अनि विश्वास हो,
सपना पल पलको कामना हो,
अनि
सपना जीवन जिउने एक सुन्दर मिठो बहाना हो ।
तर,
यहाँ सपनाहरू मुना पलाउन नपाउँदै टुटिएका छन्,
अनि
प्रत्येक क्षण, प्रत्येक पल, पाइलै पाइलामा लुटिएका छन्।

हजारौं सपना मातृ गर्व भित्र लुटिएका छन्
सुन्दर संसार देख्न नपाई तुहिएका छन् ।
कहिले विचरी छोरीको नाममा लुटिन्छन् त केवल,
अनि
कहिले निर्मला त कहिले ममता भई मेटिन्छन् ।
कहिले बलात्कारीको सिकार, त
कहिले श्रीमानको प्रहार,
यसरी, उसरी अनि त्यसरी
सुन्दर सजिएका सपनाहरू
पल, पल, अनि क्षण क्षण बिचमा लुटिन्छन् ।

कयौँ सपनाहरू कहिले राजधानीको खाल्टोमा पुरिन्छन्,
कहिले नेता, अनि कहिले मालिक
कहिले हाकिम अनि आफ्नै भाग्यले,
फक्रनै नपाई, अबोध कलिला मुनाहरू यहाँ
पाइला पाइलामा दाबिन्छन्।

गरिबीले जेलिएको परिवारलाई उकास्न,
अरबको खाडीमा पुग्छु म
साहुको चर्को ऋण नतिर्दै, उतै खाडीमा बित्छु म
कहिले मेरा अधुरा सपनाहरू बाकसमा फर्किएका छन्,
त कहिले खाडीको चर्को घाम अनि
कहिले युरोपको कठ्याङ्ग्रिँदो जाडोमा,
म पल पल लुटिई रहेको छु अनि मेरा सपना
क्षण प्रतिक्षण टुटिरहेका छन् ।
अनि
यसरी नै मेरा सपनाहरू हराइरहेका छन् ।

सपना साँचिनै सपना नै हुन्छन्,
चाहे उच्च शिक्षा प्राप्तिका खातिर विदेशिने सपना हुन्
या केही धन आर्जन गरी परिवार पालन पोषण ९होस्०
हर घडि, हर पल लुटिरहन्छन्, छुटिरहन्छन् ।
कहिले म्यानपावरमा कहिले कन्सल्टेन्सीमा,
कहिले आफ्नैबाट त कहिले पराइबाट
उम्रनै नपाइ, फुल्नै नपाइ अवसान भइरहन्छन् ।

कहिले नेताले देखाएको सुन्दर भविष्यको आशामा,
अनि कहिले क्रान्तिको नाममा,
सपना देखिरहेको छु, क्षण पल, समय व्यतीत छ,
व्यवस्था फेरियो, अवस्था उहि छ
गरिबी मौलाइरहेछ, नेता मोटाइ रहेछन्
मेरो सपना बीचबाटोमा ठिङ्ग अलपत्र, अनि अपाङ्ग भइरहेछ ।

मेरा सपनाहरू कहिले पञ्चायतले लुट्यो, त कहिले बहुदल ले, कहिले क्रान्तिकारीले त कहिले गणतन्त्रवादीले,
बलात्कार माथि बलात्कार, प्रहार माथि प्रहार,
अबोध म जनता न यता न उता।

यसरी नै कयौँ सपनाहरू हेलिए त्रिशुलीको भेलमा,
अनि केही सपना अस्ताए बाल कुमारी रणमैदानमा
देख्दैछु सपना एक सपूत छोरो,
आशा छ पूरा गर्ने सपना यो मेरो,
शिक्षा, शान्ति अनि विकासको रहर
देश निर्माणका लागि लाग्ने छ ऊ हर प्रहर,
लाग्ने छ ऊ हर प्रहर ।
अस्तु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर