




बज्र इभेन्ट्सको आयोजनामा हुने साँगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्स ले दमदार प्रस्तुति दिनेछन् । विश्वका विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको यो चर्चित ब्यान्ड नेपाली सङ्गीतप्रेमीहरू माझ अत्यधिक लोकप्रिय छ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् ।

सङ्गीत महोत्सवले केवल मनोरञ्जन मात्र प्रदान गर्ने होइन स्थानीय सङ्गीत, संस्कृति, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने उद्देश्य राखिएको छ । आयोजक संस्था बज्र इभेन्ट्स का अध्यक्ष फुर्वा लामाका अनुसार, चारआली म्युजिक फेस्ट २०२५ बाट बचेको रकमले मेचीनगरको फ्रिडम फाउण्डेसनलाई सहयोग गर्दै सामाजिक हितका कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ । फ्रिडम फाउण्डेसन लागूऔषध प्रयोगकर्ताहरूलाई कुलत बाट मुक्त गराउन उपचार र परामर्श प्रदान गर्दै आएको छ । यसको सञ्चालक सन्दिप थापा रहेका छन् । उनी पनि यस सङ्गीत महोत्सव आयोजनामा जोडिएका छन् ।

आज (शनिबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष लामाले भने, “यो केवल मनोरञ्जनको लागि मात्र नभई साङ्गीतिक पहिचान, स्थानीय व्यापार प्रवर्द्धन, तथा सामाजिक सुधारका लागि ऐतिहासिक अवसर हुनेछ । यस महोत्सवले स्थानीय कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्नेछ, जसले उनीहरूको कला संसारभर चिनाउने अवसर प्राप्त हुनेछ ।“
अध्यक्ष लामाले सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई यो ऐतिहासिक क्षणको साक्षी बन्न चारआली म्युजिक फेस्ट २०२५ मा उपस्थित हुन आग्रह गरेका छन्।
चारआली म्युजिक फेस्ट बाट सङ्कलित पूँजीलाई लागूऔषध तथा दुर्व्यसन नियन्त्रण, स्थानीय पर्यटन प्रवर्द्धन, र स्थानीय कलाकारहरूको उत्थान जस्ता सामाजिक कार्यहरूमा लगानी गरिने महोत्सव आयोजकका महेश गहतराजले जानकारी दिए ।


चारआली म्युजिक फेस्ट २०२५, मनोरञ्जनको मात्र स्रोत नभई स्थानीय समुदायलाई आर्थिक, सांस्कृतिक, र सामाजिक रूपमा सशक्त बनाउने महत्त्वपूर्ण कार्यक्रम बन्ने अपेक्षा गरिएको छ ।
चारआली क्षेत्रको साङ्गीतिक पहिचानलाई विश्व मञ्चमा पुर्याउने लक्ष्य सहितको यो महोत्सव, नेपाली सङ्गीत प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्नेछ ।
पत्रकार भेटघाट कार्यक्रममा आकास तामाङ, राजेन्द्र उप्रेती, सन्दिप थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विशाल घिसिङले गरेका थिए ।
जोन एण्ड द लोकल्स को बारेमा
जोन एण्ड द लोकल्स नेपालका चर्चित ब्यान्डहरूमध्ये एक हो, जसको उत्पत्ति धरान, पूर्वी नेपालमा भएको हो ।
ब्यान्डका सदस्यहरू
जोन राई – भोकलिस्ट (मुख्य गायक)
जास्पर राई – ड्रम्स
मनुहाङ राई (मन्नु म्यान) – बेस गिटार
श्रीहाङ राई (स्टिभ) – लिड गिटार
सुदर्शन थापा – बाँसुरी
जोन एण्ड द लोकल्सले रक, इन्डी, र लोक संगीतको अनौठो संयोजन प्रस्तुत गर्छ । उनीहरूका गीतहरूले नेपालभरि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा कमाएका छन्।