Aamsanchar

स्व. विनोद बस्नेत : जीवनभर अरूको मन जित्ने मानिस, अन्ततः आफैंसँग हारिए

Author Image
शुक्रवार, वैशाख २६, २०८२

बिर्तामोड । बिर्तामोडका चर्चित व्यवसायी, समाजसेवी तथा झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेत अब यस लोकमा रहेनन्। जीवनभर अरूका निम्ति दौडिरहने, सहयोगको हात फैलाइरहने र मुस्कान बाँडिरहने बस्नेतले अन्ततः शुक्रबार बिहान आफ्नो जीवनको अन्तिम पन्ना आफैंले लेखे।

उनको निधन आज विहान ९ः३० बजे आफ्नै निवासमा भएको हो। स्वेच्छिक मरणको बाटो रोजेका बस्नेत आफ्नै शयनकक्षको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेका थिए। पार्थिव शरीरमा उनका भाइ विपिन बस्नेतले दागबत्ती दिएर कनकाईमाईको पूर्वी तट स्थित घाटमा वैदिक विधिअनुसार अन्त्येष्टि गरियो।

शुक्रबार साँझ ५ बजेबाट सुरु भएको शव यात्रा बिर्तामोड बाट कनकाई नदीसम्म पुगेको थियो। यात्रामा राजनीतिज्ञ, समाजसेवी, व्यवसायी, खेलकर्मी र सर्वसाधारण गरेर हजारौं मलामीहरूको सहभागिता थियो। शान्त अनुहारमा चिरनिन्द्रामा सुतेका बस्नेतप्रति श्रद्धाञ्जलि अर्पण गर्न घाटमा जनसागर नै उर्लिएको थियो।

स्व. बस्नेत ५२ वर्षका थिए । उनी सानातिनो व्यापारदेखि लिएर देशैभर सामाजिक अभियानमा समर्पित थिए। सयपत्री ट्रेड लिंकका सञ्चालक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, जेसीज पूर्व अध्यक्ष समाजका पूर्व अध्यक्ष, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष — यी सबै परिचय अब स्मृतिमा बाँकी रहनेछन्।

सामाजिक कामका लागि जीवन अर्पण गरेका उनले आखिर किन यस्तो कठोर निर्णय गरे — त्यो प्रश्न उनका परिवार, आफन्त, सहकर्मी र सम्पूर्ण बिर्तामोडबासीका मनमा ताजा छ। उनका श्रीमती कोपिला अधिवक्ता पेशामा छिन् भने एक मात्र छोरी विभूति एमबीबीएस अध्ययनरत छिन्।
विनोद बस्नेतको मृत्युले बिर्तामोड स्तब्ध छ । थुप्रै संघसंस्था, समाजका अग्रज, मित्र तथा अनुयायीहरूले उनलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्व. विनोद बस्नेत आमसंचार डटकमका एक विशिष्ट शुभचिन्तक, सहयोगी थिए ।

“मृत्यु के हो?”
शायद विनोद बस्नेतजस्ता व्यक्तित्वका निम्ति मृत्यु केवल शारीरिक अन्त्य होइन, अन्तर्मनमा उर्लिएको पीडाको एक स्थायी विश्राम पनि हो।
जीवनभर सबैको मुस्कानको कारण बनेका उनी, जब आफ्नो आँखा ओझेल परे — त्यहीँ दुःखको कथा सुरु भयो।
शब्दहरू कम परिरहेका छन्, मन भारी छ। समाजका निम्ति एक उज्यालो बत्ति निभेको छ।
“फूल जस्तै जीवन थियो, बास्ना बाँडेर गयो,
आँसु बनेर सम्झना, हृदयमा बस्न पुग्यो…“
स्व. विनोद बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि।

Views: 4475

प्रतिक्रिया (०)

सम्बन्धित खबर