बिर्तामोड । मान्छे हो, इच्छा र चाहनाका घनाजंगलमा बाँचिरहन्छ । कसैको सपना हुन्छ महलको, कसैको गाडीको, त कसैको चाहना हुन्छ, रुखमाथि घर बनाउने ! हो, त्यस्तै एक अनौठो र दिलचस्प सपना साकार पारेका छन् झापा बुद्धशान्ति–२ जिम्बा टोलका युवाशक्ति छिरिङ जिम्बा तामाङले।

रुखमाथि घर ? सुन्दा नै रोमाञ्चक लाग्यो नि है! उनीले बनाएको “हावा घर“ अहिले सामाजिक सञ्जालमा यति धमाका मच्चाइरहेको छ कि, स्थानीय मात्र नभएर, परपरका मानिसहरु पनि यो हावाको सपनालाई नजिकबाट अवलोकन गर्न आउन थालेका छन्।

बासको खुट्टा र तीनवटा भरिया रुखको काँधमा टिकेको यो करिब ३० फिट अग्लो घर बनेको छ– जुन हेर्दा झट्टै लाग्छ, कुनै बालसाहित्यको पानाबाट झरेको जादुमय संरचना हो। तर यो त छिरिङको पसिना र मिहिनेतको उपज हो – मात्र ९ दिन, अनि जम्मा ८ हजार रुपैयाँ खर्च गरेर उनले बनाएका हुन् यो हावा घर !

घर निर्माणकर्ता छिरिङ भन्छन । ‘आफू पहिले गाउँघरमा कुखुरा, बाख्राको खोर बनाउने गरेको थिए । गर्मी बढेर उधुम हुन थाले पनि सरिरले सितल खोजिरहेको थियो । सोही बेला रुख माथी हावाघर बनाउने सोच आयो यस्तो काम गर्ने मेरो रहर चहाना हो यही चहानेले घर बनाए र टिकटकमा पोष्ट गरे अहिले विभिन्न ठाउँबाट घर हेर्न आउनेहरुको घुइचो लाग्न थालेको छ । आउने हरुले घर राम्रो बनेको प्रतिक्रिया दिइरहेका छनु । सकारात्मक प्रतिक्रियाले खुसी लागेको र अब अझै रचनात्मक काम गर्ने प्रेरणा मिलेको छ ।’


अब त गाउँलेहरू भन्दा पहिले क्यामेरा र मोबाइल बोकेर आउनेहरू देखिन्छन् यहाँ। छिरिङ त जति खुसी देखिने हो, त्यो भन्दा बढी ’फेमस’ भएका छन् अहिले ।
कसैले रिल्स बनाउँछ, कसैले टिकटक, कसैले फेसबुक स्टोरीमै राखेका छन फोटो। बालबालिका देखी बुढाबुढीसम्मलाई यो रुखमाथिको घरले रोमाञ्चित बनाइरहेको छ ।
सपना भनेको महँगो डिजाइन र महलले मात्रै बनिँदैन रहेछ – कहिलेकाहीं तीनवटा रुख र ८ हजार रुपैयाँमै पनि बन्छ ।
त्यो पनि यति क्यामेरा–फ्रेन्ड्ली र मन छुने शैलीमा, जसले हजारौंको मन जितिदिन्छ !
भिडियो पनि हेर्नुहोस् । भिडियोलाई धेरै भन्दा धेरै शेयर पनि गरिदिनु होला ।

