Aamsanchar

भिषण वर्षासँगै कनकाई माई खोलामा ढुलो बाढी, तटिय क्षेत्र उच्च सतर्कता अवस्थामा

Author Image
आइतवार, साउन ४, २०८२

बिर्तामोड । शनिवार राति पहाडी जिल्ला इलाममा परेको अविरल वर्षाको असरले झापाको कनकाई माई खोलामा यस वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । कनकाई नहर र माई खोलाको दोभान क्षेत्रमा पानीको सतह अत्यन्त माथि पुगेको छ भने बाढीले विभिन्न स्थानमा जमिन कटान गर्नुका साथै जोखिम थपिएको छ ।

इलाम र झापाको सिमामा पर्ने दोमुखा क्षेत्रमा कनकाई नहरको ड्याममा पानीको बहाव तीव्र भएपछि ड्याममा भयावह स्थिति देखिएको हो। यद्यपि, नदी किनारामा बनाइएको तटबन्ध मजबुत रहेकोले हालसम्म ड्याम कटान वा बस्तीमा पानी पस्ने सम्भावना नरहेको अधिकारीहरूले जनाएका छन्।

तर, पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत माई खोलाको वरपर भने बाढीले जमिन कटान गर्दा ठूला–ठूला रुखहरू बगाएको जनाइएको छ। माइ पश्चिम पुलको उत्तरतर्फको बस्ती बाढीको उच्च जोखिममा रहेको छ भने पुलदेखि दक्षिण तर्फ पनि कटान सुरु भइसकेको छ । यद्यपि हालसम्म ठूलो भू–क्षति भने भएको छैन।

स्थानीय बासिन्दाहरूका अनुसार, निरन्तर बाढी आइरहने हो भने कनकाई नदीको पश्चिम किनारमा ठुलो क्षति हुन सक्ने देखिएको छ । “गत वर्ष मात्रै यस क्षेत्रका १६ वटा घर बगाएको थियो,” एक स्थानीय बासिन्दाले बताए ।

दाउरा संकलनमा व्यस्त स्थानीयहरू
कनकाई खोलामा बाढी आएपछि नदीले पहाडबाट बगाएर ल्याएका रुख, दाउरा र काठहरू किनारमा थुप्रिएको छ। त्यसैले नदी किनारमा बसोबास गर्ने स्थानीयहरू बाढीको जोखिम मोलेर दाउरा संकलनमा व्यस्त देखिन्छन्। कतिपय स्थानमा उनीहरू बाढीको छालसँगै पौठेजारी खेल्दै नदीबाट दाउरा तानेर ल्याइरहेका छन्।

सिमेन्ट र तारजाली संरचना क्षतिग्रस्त
बाढीको चपेटामा पर्दै पुल उत्तरतर्फ नदी नियन्त्रणका लागि राखिएको सिमेन्टको काडेबार समेत बगाइसकेको छ भने नदी किनारमा रहेको तारजाली संरचना पनि भारी क्षतिमा परेको छ। केही ठाउँमा तारजाली बटारिएर खोलामै भासिएको देखिन्छ।

स्थानीय प्रशासनले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै जोखिमयुक्त स्थानबाट टाढा रहन तथा बाढीको बहावबारे जानकारी लिइरहन आह्वान गरेको छ।

कनकाई नदी झापाको प्रमुख नदीमध्ये एक हो, जसमा बर्खायाम सुरु भएलगत्तै बाढी आउने क्रम जारी रहँदै आएको छ। यो बाढीले यसपालि कति क्षति पुर्याउने हो भन्नेमा अझै मूल्याङ्कन हुन बाँकी छ, तर जोखिम भने गम्भीर देखिएको छ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर