Aamsanchar

बिर्तामोड बसपार्क क्षेत्रका अधिकांश होटल मापदण्डविपरीत, होटल व्यवसायी संघ झापाद्वारा सचेतनामूलक कार्यक्रम

Author Image
बिहिवार, साउन ८, २०८२

बिर्तामोड । अर्जुनधारा – झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बिर्तामोड बसपार्क क्षेत्रका अधिकांश होटलहरू न्युनतम कानुनी र प्राविधिक मापदण्ड बिना नै सञ्चालन भइरहेको पाइएको छ। यसले व्यवसायीलाई दैनिक सञ्चालनमा समस्या मात्रै होइन, भविष्यमै कानुनी झमेलामा फस्ने खतरा समेत बढाएको छ।

यस्तै समस्या समाधान र व्यवसायलाई मर्यादित, सुरक्षित र दीगो बनाउन होटल व्यवसायी संघ झापा र स्थानीय व्यवसायीहरूको सहभागितामा बुधबार एक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रम संघकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, र इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

व्यवसायीको गुनासो : प्रहरी, गुण्डा र पार्किङ अभाव
कार्यक्रममा सहभागी व्यवसायीहरूले सार्वजनिक बसहरु पार्किङ नहुदा होटल सञ्चालनमा ठूलो कठिनाइ भइरहेको गुनासो गरे। साथै, केही युवाहरुको समूहहरूले होटलमा आएर आतंकित बनाउने, अनुचित दबाब दिने जस्ता गतिविधि बढेको भन्दै तत्काल समाधानको मागसमेत गरे ।

बसपार्क क्षेत्रमा हाल १३० भन्दा बढी साना–ठूला होटलहरू सञ्चालनमा छन्। व्यवसायीहरूका अनुसार पूर्व–पश्चिम चल्ने सबै सार्वजनिक बसहरूलाई बसपार्कमै पार्क गराउने व्यवस्था मिलाइए मात्र व्यापार चल्ने वातावरण बन्नेछ ।

संघको आग्रह : मापदण्ड पालना र संस्थागत एकता अनिवार्य
होटल व्यवसायी संघ झापाले व्यवसाय सञ्चालनका न्युनतम मापदण्डका विषयमा व्यवसायीहरूलाई जानकारी गराउँदै सबै व्यवसायीलाई संघमा आबद्ध हुन आग्रह गरेको छ।

संघले निम्न मापदण्डहरूको पालना गर्न व्यवसायीलाई सुझाव दिएको छः
शान्ति–सुरक्षा तथा होटल सञ्चालन प्रक्रिया स्पष्ट गर्नुपर्ने
होटललाई लागुऔषध र यौनजन्य गतिविधिको जोखिमबाट जोगाउन कडाइ
बालश्रम प्रयोग नगर्ने, व्यवसायको स्थानीय सरकार, राजस्व कार्यालय तथा संघमा अनिवार्य दर्ता गर्ने
प्रशिक्षित कर्मचारी नियुक्त गर्ने र परिचय खुल्ने परिचयपत्र राख्ने
कोशी प्रदेश पर्यटन वर्षअन्तर्गत प्राप्त गर्न सकिने अवसरहरूको सदुपयोग गर्ने

संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले भनिन्, “हामी सबै व्यवसायी एकजुट भएर काम गरेमा मात्र व्यवस्थित र कानुनसम्मत होटल व्यवसाय सम्भव हुन्छ । संघमा आवद्ध नभएका व्यवसायीहरूले संघको पहलबाट वञ्चित हुने सम्भावना हुन्छ।“

५० भन्दा बढी व्यवसायीको सहभागिता
संघका महासचिव शिव पौडेलले सहजीकरण गरेको कार्यक्रममा ५० भन्दा बढी होटल व्यवसायी तथा सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले होटल व्यवसायको नियमन, संरक्षण र दीगो विकासतर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गराएको आयोजक पक्षको निष्कर्ष छ ।

 

Views: 682

प्रतिक्रिया (०)