Aamsanchar

नागपञ्चमी : संस्कार, संस्कृति र स्वधर्मको संरक्षणको सन्देश

Author Image
मङ्गलवार, साउन १३, २०८२

असार १५ देखि सुरु भएका हाम्रा मौलिक पर्वहरूको श्रृंखला साउन महिनामा झनै सघन र जीवन्त बन्दै गएको छ। साउने संक्रान्ति र सोमवारजस्ता पर्वहरूको चर्चा भइरहेका बेला आज हामी नागपञ्चमी पर्वबारे चर्चा गर्दैछौं। चेतना साहित्य समाजले निरन्तर रूपमा हाम्रा मौलिक चाडपर्वहरूको मूल सन्देश र वैज्ञानिक पक्षलाई उजागर गर्दै आएको छ।

नागपञ्चमी सनातन धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो। नेपाल, भारत मात्र होइन, विश्वभर रहेका हिन्दू, बौद्ध, किराँत, जैन, शिख र प्रकृति पूजकहरूद्वारा यो पर्व श्रद्धापूर्वक मनाइन्छ। साउन महिनाको शुक्ल पक्षको पाँचौँ तिथिमा पर्ने यो पर्वमा नागदेवताहरूको पूजा गरिन्छ।

नागलाई केवल सर्प भनेर बुझ्ने हो भने पर्वको गहिरो अर्थ छुट्न सक्छ। सर्पलाई हामीले प्रकृतिको अंगका रूपमा सम्मान गर्ने परम्परा छ—जसले उब्जनी दिने माटोको रक्षा गर्छ, वातावरण शुद्ध बनाउँछ र विष नाश गरेर जीवन चक्रलाई सन्तुलनमा राख्छ। नाग सबैभन्दा चिसो प्राणी मानिन्छ, जसले प्रकृतिमा सन्तुलन ल्याउने विश्वास गरिन्छ।

यस दिन चाँदी, काठ, ढुङ्गा वा चित्रमा बनेका नागको दूध, जल, अक्षता र फूलले पूजा गरिन्छ। घरको मूलढोकामा गोरु गाईको गोबर, दुवो र नाग चित्रको पोष्टर टाँसी पूजा गरिन्छ। जीवित नाग देखिएमा त झन् दूध, फलफूल चढाएर आराधना गरिन्छ।

पुराण र महाभारतमा आधारित किंवदन्ती
नागपञ्चमीको ऐतिहासिक महत्त्व महाभारतकालसम्म पुग्छ। राजा परीक्षितको मृत्युको बदला लिन उनका पुत्र जनमेजयले सम्पूर्ण सर्प जातिलाई नाश गर्ने ‘सर्प सत्र यज्ञ’ सुरु गरेका थिए। यज्ञमा तक्षक नागसमेत बलिपछि पुग्ने खतरा थियो। तर ऋषि कश्यप र मनसा देवीका पुत्र अस्तिकले यज्ञ रोक्न आग्रह गरे। जनमेजयले अस्तिकलाई वरदान दिएअनुसार यज्ञ रोके—त्यही दिन थियो साउन शुक्ल पञ्चमी। त्यसैले आजको दिनलाई नागपञ्चमी भनिन्छ।

धार्मिक, सांस्कृतिक र वैज्ञानिक पक्ष
पुराणहरू – स्कन्द, नारद, अग्नि, गरुड र महाभारतमा नागको पूजाको प्रसंसा गरिएको छ। यिनले बताउँछन् कि नागपूजाले केवल सांस्कृतिक चिनारी मात्रै होइन, रोग, भय र दुर्भाग्य निवारणको उपाय पनि हो।

ज्योतिषीय रूपमा सर्प दोष, राहु–केतुको दुष्प्रभाव आदिको निवारणका लागि नागपूजा विशेष फलदायी मानिन्छ। यही विश्वासले गर्दा आज पनि लाखौं श्रद्धालु मन्दिरमा नागको पूजा गर्न पुग्छन्।

हाम्रो उत्तरदायित्व
हाम्रा मौलिक पर्वहरूको अनुसन्धन र संरक्षण आजको आवश्यकता हो। आधुनिक भौतिकवादको प्रभावमा परेर अध्यात्म र प्रकृतिप्रति असंवेदनशील हुनु हामीले पाएको सांस्कृतिक सम्पदामाथि अन्याय हुनेछ। नागपञ्चमी जस्ता पर्वहरू केवल परम्परा होइन, प्रकृति र जीवनबीचको सामञ्जस्यको प्रतीक हुन्।

हुन त आज विश्व नै वैदिक सनातन परम्पराको अनुसरण गर्दैछ, तर दुर्भाग्यवश नेपालजस्तो हिमवतखण्ड आज आफ्नै संस्कृतिबाट टाढिँदै गएको अनुभूति हुन्छ। हामीले पुनः वैदिक मूल्य र चेतनामा आधारित जीवनशैलीलाई आत्मसात् गर्नु आवश्यक छ।

निष्कर्षमा, नागपञ्चमी केवल सर्पको पूजा होइन, संस्कार र संस्कृतिको जगेर्ना गर्ने अवसर पनि हो। सर्पहरूका लागि पनि संरक्षणको खाँचो छ – तिनको अस्तित्वबिनाको प्रकृति अधुरो हुन्छ।

नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नागपञ्चमी! जय सनातन धर्म! जय चेतना साहित्य समाज!

लेखक ओली राष्ट्रीय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष हुन ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर