

चारपाने । देशको विज्ञान, प्रविधि र ग्रामीण विकासको अभियानमा अग्रसर डा. महावीर पुनलाई मनकामना बेभरेज प्रालिले साथ दिएको छ । अर्जुनधारा–५, बैशाबाडीस्थित उद्योग परिसरमा आयोजित कार्यक्रममा कम्पनीले डा. पुनको जीवनीमा आधारित आत्मकथा ‘महावीर’ पुस्तक ५१ हजार रुपैयाँ बराबरमा खरिद गरी राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।




सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले अनुसन्धान र नवप्रवर्तनमा लागेका युवालाई थप प्रेरणा दिने विश्वास कम्पनीका प्रबन्ध निर्देशक नवराज भारतीले व्यक्त गरे।
कार्यक्रममा बोल्दै उनले भने, “देशका लागि निस्वार्थ भावनाले काम गरिरहनु भएका डा. पुनप्रति हाम्रो कदरस्वरूप पुस्तक खरिदमार्फत साथ जनाएका हौं। निजी क्षेत्रले यस्ता अभियानलाई साथ दिनु आजको आवश्यकता हो।”


डा. महावीर पुनले पनि सहयोगप्रति आभार व्यक्त गर्दै भने,
“यस्ता सहयोगहरूले नवप्रवर्तनको बाटो सजिलो बनाउँछ। निजी क्षेत्रको साथले अनुसन्धान र निर्माणमा गतिशीलता थपिन्छ। हामी आफू अनुकूल बाटो खोजिरहेका छौं, तपाईंहरूले बाटो बनाइदिनुभएको छ।”
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन विगत केही हप्ता यता किताब बिक्री अभियान लिएर झापा क्षेत्रमा छन्। ३० वर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन आर्थिक स्रोत जुटाउन उनी स्वयं देशका विभिन्न भागमा घुमिरहेका छन्।
उनको भनाई अनुसार, ‘महावीर’ पुस्तकको बिक्रीबाट खर्च कटाएर हालसम्म करिब १२ करोड रुपैयाँको लगानी कृषि औजार कारखानामा गरिसकिएको छ ।

देशको आत्मनिर्भरताका लागि प्रविधि विकास र उत्पादनमा जोड दिँदै आएका डा. पुनको यस्तो अभियानमा निजी क्षेत्रको सहभागिता दिनदिनै बढिरहेको सन्देश झल्किन्छ ।

