

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा तीन दिने धार्मिक अनुश्ठान माँ मनसा देवी पूजा हुने भएको छ । बंगाली समाज सेवा समिति कनकाईकोे आयोजनामा भदौ ११ देखि १३ गतेसम्म हुने यस पूजालाई विशेष भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

आज (बुधबार) पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष पंकज मण्डलले पाचौँ पटक आयोजना हुन लागेको पूजालाई यस वर्ष विगतभन्दा अझ परिस्कृत ढंगले गर्न लागिएको बताए । भदौ १२ गतेलाई विशेष दिनको रूपमा लिइने पूजामा कनकाई माई नदीबाट जल लिएर धनुश्कोटी धाम जाने बाटोमा रहेको ग्रामथानमा झाँकीसहित पदयात्रा निकालिने, रात्रीकालीन भजन, धार्मिक नाटक र विविध शिव ताण्डवलगायत झाँकी प्रदर्शन गर्ने तयारी भएको जानकारी दिइयो ।
आयोजक समितिका सचिव रविन मण्डलका अनुसार कनकाई नगर समितिमा आवद्ध ४५ बंगाली घरपरिवार, विद्यालय, संघ–संस्था र सर्वसाधारण गरी झण्डै २ हजारभन्दा बढी भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । करिब ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको पूजा कार्यक्रमको मुख्य स्रोत स्थानीय समाज, संस्था र व्यक्तिहरूको सहयोग रहेको उपाध्यक्ष दिगम मण्डलले बताए ।



पूजा स्थल । सुरुङ्गा बजार देखि २०० मिटर उत्तर ।

पूजा आयोजना समितिका संयोजक अमित मण्डलले बंगाली समुदायको मौलिक सभ्यता, भेषभूषा, खानपान र सांस्कृतिक पहिचानलाई झल्काउने उद्देश्यसहित पूजाको आयोजना गरिएको बताए । कार्यक्रममा सहसचिव मीना मण्डल, सदस्य निर्मला मण्डल, श्रवण मण्डल, मनोज मण्डल, सल्लाहकार पवनकुमार मण्डल र जन्मजय मण्डलको पनि उपस्थिति रहेको थियो ।
माँ मनसा देवीको महत्व
माँ मनसा देवीलाई हिन्दू धर्ममा सर्पदेवीको रूपमा पूजिन्छ । विशेषगरी बंगाली समुदायमा मनसा देवीको पूजा दीर्घायु, परिवारको सुख–शान्ति, धान्य–धान्यको वृद्धि तथा सर्पदंशबाट मुक्ति मिलोस् भन्ने श्रद्धासहित गरिन्छ । विश्वास गरिन्छ, भक्तिपूर्वक पूजा गर्दा देवी मनसाले भक्तजनका दुःख–कष्ट हटाई स्वास्थ्य, समृद्धि र सम्पन्नता दिन्छिन् ।
नेपालका साथै भारतको पश्चिम बंगाल, असम, त्रिपुरा जस्ता क्षेत्रमा यो पूजा अत्यन्त लोकप्रिय मानिन्छ ।

