Aamsanchar

बैंक कर्मचारीको मनोमानीः चिनजानवालालाई मात्र खुद्रा नोट, सर्वसाधारण पीडित

Author Image
बुधवार, असोज ८, २०८२

प्रतिकात्मक तस्वीर । श्रोत : एआई

बिर्तामोड । दशैं नजिकिँदै गर्दा सर्वसाधारणलाई चाहिने खुद्रा नोट सटहीमा बैंकका कर्मचारीले मनपरी गर्न थालेको आरोप सार्वजनिक भएको छ । आफ्ना आफन्त, चिनजानका व्यक्तिलाई मात्र सुकिला पुराना नोट साटिदिने र सामान्य सर्वसाधारणलाई पन्छ्याउने व्यवहार भएपछि बैंक कर्मचारीप्रति जनआक्रोश बढ्न थालेको हो ।
झापा बिर्तामोडका विभिन्न बैंक शाखामा सर्वसाधारणले “हामीलाई छैन” भन्ने जवाफ पाउने तर कर्मचारीले आफ्नै चिनजानका मानिसलाई नोट साटिदिने गरेको खुलासा भएको छ । यसरी विभेदपूर्ण ढंगले व्यवहार भएको विषयमा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत तीव्र आलोचना गर्न थालेका छन् ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले समेत फेसबुकमार्फत बैंक कर्मचारीको विभेदकारी चरित्रको प्रष्ट आलोचना गरेका छन् । उनले आफू पनि नोट सटही गर्न गएकोमा कर्मचारीले उपेक्षा गरेको उदाहरण प्रस्तुत गर्दै प्रश्न गरेका छन– “नियम सर्वसाधारणका लागि मात्र हो ? चिनजानवालालाई किन छुट ?” उनले आमसंचार सँग भने “म बिर्तामोडको एक बैंकमा खुद्रा नोट साटन गएको थिए । मेरो कर्मचारी संग राम्रो चिनजान थिएन मलाई खुद्रा नोट छैन भनेर दिएनन । तर त्यही बैंकबाट कर्मचारीका चिनजानका एक व्यत्तिले सुकिला नोट ल्यार टोलमा आफ्ना मान्छेहरु लाई वितरण गरेको प्रमाण म संग छ । बैकको नाम अहिले उल्लेख गर्दिन । कुनै कर्मचारीको कारणले सिंगो बैंक बदनाम हुनु राम्रो होइन । आफ्नो व्यवहार सुधारेरन भनै बैंकको नातावाद व्यवहारको खुलेर आलोचना हुन्छ । ’’

पत्रकार गिरीको पोष्ट र उक्त पोष्टमा सर्वसाधरणले व्यक्त गरेको प्रतिक्रिया यस लिंकमा रहेको छ ।

सर्वसाधारणले भने बैंकमा भएको व्यवहारलाई “अपमानजनक” ठहर गरेका छन् । बिर्तामोडका व्यवसायी रविन थापाले भने, “हामी बिहानै लाइन बसेर नोट साट्न गएका थियौँ । तर, कर्मचारीले नोट सकियो भनेर फर्काए । त्यही बेला उनीहरूले आफ्नै चिनजानको मान्छेलाई भित्र बोलाएर सुकिला नोट दिइरहेको देख्यौँ, अन्याय ठानेर हामी आक्रोशित भयौँ,” भने ।

त्यस्तै, स्थानीय महिला शान्ता आचार्यले भनिन्, “दशैंमा घर खर्चका लागि खुद्रा चाहिन्छ भनेर गएकी थिएँ । कर्मचारीले छैन भनेपछि फर्किनुप¥यो । तर, पछि थाहा भयो, चिनजानवालाले सजिलै नोट पाएछन् । यस्तो भेदभावले साधारण जनतालाई हेपिएको महसुस हुन्छ ।”

यसबारे नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका एक अधिकारीले भने, “सर्वसाधारणलाई असहज नहोस् भनेर पुराना सुकिला नोट पर्याप्त मात्रामा बैंकमार्फत पठाइएको छ । यदि कुनै शाखामा कर्मचारीले विभेदपूर्ण व्यवहार गरेको पाइए तत्काल कारबाही हुन्छ । सर्वसाधारणले पीडा भोग्नुपर्ने स्थिति हुनुहुँदैन,” प्रतिक्रिया दिए ।
यस्तै, बिर्तामोडस्थित एक बैंक शाखा व्यवस्थापकले भने, “नोट सटहीका लागि तोकिएको सीमा र प्रक्रिया हुन्छ । कतिपय बेला माग अत्यधिक हुने भएकाले सबैलाई एकैपटक दिन सम्भव हुँदैन । तर, चिनजानका मान्छेलाई मात्र दिने भनेर आरोप लाग्नु दुःखद हो । यस्तो नहोस् भनेर हामी आन्तरिक अनुगमन बढाउनेछौँ,” बताए ।

सर्वसाधारणले भने बैंक कर्मचारीको मनोमानी तत्काल रोक्न सम्बन्धित निकाय र राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर