Aamsanchar

झापा : सुगाबथान र सेतुमारीमा राहत वितरण

Author Image
शनिवार, कार्तिक २, २०८२


चारपाने । मानवीय संवेदना, करुणा र सेवाभावका साथ झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ।

अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। सो सहयोगबाट झापा गाउँपालिकाका मुख्य प्रभावित क्षेत्र सुगाबथान, सेतुमारीलगायतका बाढीपीडितहरूलाई करुणा र सहानुभूतिपूर्वक राहत सामग्री हस्तान्तरण गरिएको हो।

हिजो शुक्रबार स्थलगत अवलोकन गर्दै पीडितहरूलाई प्रत्यक्ष रूपमा ‘सेवाको भावना, मानवीय जिम्मेवारी र एकताको सन्देश’ सहित अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ता एकराज गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, वर्तमान महासचिव चिरन खवास लगायतले राहत वितरण गरेका थिए।

राहत वितरण कार्य जिल्ला विपद् व्यवस्थापन समितिको एकद्वार प्रणाली अन्तर्गत प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको समन्वयमा सम्पन्न गरिएको संयोजक गिरीले बताए।

‘एकका लागि एक अभियान’सँग हाल प्रत्यक्ष ६० संघ–संस्था जोडिएका छन्। जिल्लामा हुने विपद्का क्षणहरूमा सहयोग र सहानुभूतिको पुल बन्ने उद्देश्यले अभियान सक्रिय रहँदै आएको छ। करुणा र सेवाभावमा आधारित यो अभियानमार्फत सयौं व्यक्ति स्वेच्छिक रूपमा जोडिँदै आएका छन्।

हालै समाजसेवी लोकनाथ चौलागाई र प्रेम चौलागाईले पनि मानवीय सहयोगका रूपमा ६० हजार रुपैयाँ प्रदान गरेका थिए। उनीहरू पनि राहत वितरण कार्यक्रममा उपस्थित रहेर पीडितहरूको दुख–पीडामा साथ दिएका थिए।

यस पटक ‘एकका लागि एक अभियान’मार्फत करिब २ हजार परिवारलाई राहत सामग्री वितरण गरिएको छ। यसअघि अभियानले इलामका बाढीपीडितहरूलाई पनि सहयोग गरेको थियो भने, तिहारपछि इलाम–नेपालटारका पीडितहरूलाई राहत सामग्री पठाउने तयारी भइरहेको अभियानले जनाएको छ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर