बिर्तामोड ।
इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन सक्छ भन्ने उदाहरण बनेको छ।

गाउँपालिकाले भोलि बिहिबार अध्यक्ष सँग विद्ययार्थी कार्यक्रम अन्तरगत ४१ जना लक्षित बालबालिका र उनीहरूको सहयोगी अभिभावकलाई बोलाएर औपचारिक रूपमा शैक्षिक सामग्री वितरण गर्ने र प्रत्येक बच्चाका लागि ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने तयारी गरेको छ। शिक्षा, स्वास्थ्य र सुरक्षालाई एकैपटक सम्बोधन गर्ने यो योजनालाई स्थानीयबासीले भावनात्मक र दूरदर्शी पहलको रूपमा स्वागत गरेका छन्।

पहिलो चरणमा २१ जना बालबालिकालाई शिक्षा, आवास, खाना, लत्ताकपडा, नियमित स्वास्थ्य जाँच र पूर्ण स्वास्थ्य बीमासहितका सेवा प्रदान गरिने पालिका अध्यक्ष मणीकुमार स्याङ्वोले आमसंचारलाई बताएका छन्। उनका अनुसार कार्यक्रमले केवल राहत होइन, दीर्घकालीन भविष्य सुनिश्चित गर्ने लक्ष्य बोकेको छ।

यो योजना अचानक आएको होइन। गाउँपालिकाले दुई वर्षअघि नै “एक रुपैयाँ बचत कार्यक्रम” सुरु गरेर असहाय बालबालिकाको संरक्षणका लागि आधार तयार गरेको थियो। साथै, शिक्षा तथा संरक्षण कार्यक्रम सञ्चालनका लागि पालिकाले विगत ६ महिनादेखि पूर्वतयारी गर्दै आएको र वार्षिक करिब रु १० लाख बजेट छुट्ट्याइइरहेको अध्यक्ष स्याङ्वोले जानकारी दिए।


माध्यमिक तह उत्तीर्ण भएपछि बाँकी शिक्षा सहज रूपमा हासिल गर्न सकून् भन्ने उद्देश्यसहित रोङ गाउँपालिकाले अभिभावकविहीन तथा अति विपन्न बालबालिकाका लागि अर्को महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। कार्यक्रमसँगै प्रत्येक विद्यार्थीको नाममा बैंक खाता खोलिदै नियमित बचत थाल्ने पालिकाले जनाएको छ।
यस योजनाअन्तर्गत बालबालिकाले वर्षौंदेखि सञ्चित गर्ने रकम भविष्यमा मुख्य रूपमा करिब पाँच लाख रुपैयाँ बराबरको कोषका रूपमा उनीहरूकै साथमा रहने पालिकाको दीर्घकालीन लक्ष्य रहेको अध्यक्ष स्याङ्वोले बताए।
बालबालिकाको शैक्षिक यात्रामा आर्थिक बोझ नपरोस् र उच्च शिक्षा हासिल गर्न बाधा नहोस् भन्ने विश्वाससहित यो कार्यान्वयन गरिँदै छ।
हाल विद्यालय जाने अवस्थामै रहेका बालबालिकालाई प्राथमिकतामा राखेर सुरु गरिएको यो कार्यक्रम आगामी वर्षहरूमा विद्यालय बाहिर रहेका तथा जोखिममा रहेका बालबालिकालाई समेत समेट्दै लैजाने योजनामा पालिका नेतृत्व दृढ छ।
रोङ गाउँपालिकाको यो कदम केवल प्रशासनिक कार्यक्रम मात्र होइन, मानवतासँग जोडिएको मार्मिक उदाहरण हो—जहाँ अभावले अवसरलाई रोक्न नपरोस्, अभिभावकविहीन बालबालिकाले पनि सुरक्षित बाल्यकाल र सम्मानित भविष्य पाऊन् भन्ने सन्देश समाजभर फैलाउन सफल भएको छ।

