
धनकुटाको भेडेटारमा राखिएको इमानसिंह चेम्जोङ को सालिक ।

झापा। किरात भाषा, लिपि र साहित्यको पुनर्जागरणको आधारशिला सन् १९२५ जुलाई २६ मा कालिम्पोङ मा भएको एक ऐतिहासिक बैठकबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ । उक्त बैठकमा किरात समुदायका अगुवाहरूको सहभागितामा “याक्थुङहाङ चुम्लुङ सभा” गठन गर्दै लोपोन्मुख अवस्थामा पुगेको किरात लिपि पुनर्जीवनको अभियान थालिएको थियो ।

सभामा इमानसिंह चेम्जोङ ले पुराना हस्तलिखित किरात ग्रन्थ प्रस्तुत गर्दै सिरिजङ्गा देवांसी द्वारा पुनर्जीवित सिरिजङ्गा लिपिको ऐतिहासिक पृष्ठभूमि सुनाएका थिए । त्यसपछि उपस्थित सदस्यहरूले सर्वसम्मत रूपमा किरात लिपिको अध्ययन, अनुसन्धान र प्रचार गर्ने निर्णय गरेका थिए ।
त्यसपछि नेपाल, सिक्किम, भुटान, भारत र बर्मासम्म फैलिएको अभियानअन्तर्गत पुराना पाण्डुलिपिहरू संकलन, अध्ययन तथा शिक्षण कार्य तीव्र रूपमा अघि बढाइएको थियो । गाउँ–गाउँमा पत्राचारमार्फत लिपि सिकाउने, विद्यालय स्थापना गर्ने तथा पुस्तक प्रकाशन गर्ने कार्य सुरु गरिएको थियो ।

यस क्रममा इमानसिंह चेम्जोङ स्वयंले किरात लिपिका स्वर–व्यञ्जन सिकाउँदै पहिलो पाठ्यपुस्तक तयार गरी विभिन्न स्थानमा वितरण गरेका थिए । साथै फाल्गुनन्द लिङ्देन लगायतका व्यक्तित्वहरूले धार्मिक तथा सामाजिक सुधारसँगै शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
अभियानलाई संस्थागत रूप दिँदै दार्जिलिङ, सिक्किम, बर्मा लगायत स्थानहरूमा चुम्लुङका शाखाहरू स्थापना गरिए भने पछि अखिल भारतीय किरात चुम्लुङ एसोसिएसन जस्ता संगठनहरू गठन भई किरात साहित्यको व्यापक प्रचार गरिएको थियो ।
यस्तै, लन्डन विश्वविद्यालयका भाषाविद् आर.के. स्प्रिग समेत किरात लिपिको अध्ययनका लागि नेपाल आएका थिए । उनले ल्याएका प्राचीन पाण्डुलिपिहरू अन्ततः इमानसिंह चेम्जोङ ले पढेर अर्थ स्पष्ट गरेपछि किरात लिपिको अस्तित्व र महत्व अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भएको थियो ।
सन् १९४८ मा पहिलो पटक किरात इतिहास प्रकाशनमा आएको थियो भने त्यसपछि विभिन्न देशहरूमा किरात भाषा, लिपि र साहित्यको प्रचार तीव्र रूपमा विस्तार भएको देखिन्छ ।
किरात लिपिको पुनर्जागरण केवल भाषिक अभियान मात्र नभई सांस्कृतिक पहिचान, शिक्षा र सामाजिक सुधारसँग जोडिएको महत्वपूर्ण आन्दोलनका रूपमा स्थापित भएको इतिहासले देखाएको छ ।


