Aamsanchar

सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्ध र्याली

Author Image
सोमवार, फागुन १९, २०७६

सुरुङ्गा । कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजनामा सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्ध जनचेतनामूलक र्याली निकालिएको छ ।

‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौं’ भन्ने मूल नारासहित र्याली सम्पन्न भएको थियो । र्यालीले टप्पु हुँदै सुरुङ्गा बजार परिक्रमा गरेको थियो । जुलुसका सहभागीहरुले ‘धूमपानले लिन्छ ज्यान’, ‘सुर्तीजन्य पदार्थको बिक्रीवितरण नगरौं’, ‘ स्वस्थ रहौं जीवनभर, गरौं धूमपान बहिष्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘विद्यालयको पर्खालक्षेत्रबाट १ सय मिटरभित्र सुर्तीजन्य पदार्थ र जङ्कफुड (पत्रुखाना) को सेवन, बिक्रीवितरण तथा प्रदर्शन नगरौं’ भन्ने नारासहितको ब्यानर बोकेको जुलुसमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ३ सदस्यहरु छबि थपलिया र कृष्णमाया भुजेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका ईञ्चार्ज पदमसिंह लिम्बू, शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाईं, विव्यस सदस्य चन्द्रप्रसाद प्रसाईं, क्रान्ति सुवेदी, लीला प्रसाई र बालकृष्ण नेपाल, पीटीए, आमा समूह, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी, विद्यार्थी गरी ६ सय बढीको सहभागिता रहेको थियो । ¥याली शुरु हुनु अघि सहभागीहरुले सुर्तीजन्य पदार्थ सेवन नगर्ने सामूहिक शपथ लिएका थिए ।

र्याली  समापनपछि सम्बोधन गर्दै मेयर पोखरेलले धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सुर्ती सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने बताए । उनले धूम्रपान तथा सुर्ती सेवन कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न आवश्यक ठानेर प्रदेश नं. १ सरकारले अभियान अघि बढाए अनुरुप कनकाई नगरमा कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाए । एक महिनाभित्र कनकाई नगरमा सबै सरकारी कार्यालय, विद्यालयहरु र स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्यसम्बन्धी संस्थाको १ सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण, सेवन र प्रदर्शनलाई रोक लगाउने नगर प्रमुख पोखरेलको भनाइ थियो । त्यसै गरी, सगरमाथा टिन्स् क्लबका झापा संयोजक डम्बर अधिकारीले विद्यार्थी र युवा वर्ग सचेत रुपमा धूमपान, मध्यपान, सुर्तीजन्य पदार्थ र जङ्कफुडबाट जोगिनुपर्ने बताए ।

उक्त कार्यक्रममा ‘नागरिक–समुदाय साझेदारी’ अभियान अन्तर्गत नेपाल प्रहरीले पनि ब्यानरसहित सहभागिता जनाएको थियो । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले सरकारी कार्यालय, स्वास्थ्य प्रदायक संस्था र विद्यालयदेखि १ सय मिटरभित्र सुर्तीजन्य पदार्थ र जङ्कफुड (पत्रुखाना) को सेवन, बिक्रीवितरण तथा प्रदर्शन नगर्न सबैसँग अनुरोध गरेको छ भने यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्न मातहतका सबै निकायलाई निर्देशन गरे बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सुर्तीजन्य पदार्थ भन्नाले धूम्रपान वा सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ सम्झनु पर्छ । धूम्रपान भन्नाले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम सम्झनु पर्छ भने सुर्ती सेवन भन्नाले खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ । सार्वजनिक स्थल भन्नाले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर आदि बुझिने सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा उल्लेख छ । सरकारी नीति तथा निर्देशनलाई पालना नगरेमा सुर्तीजन्य पदार्थ जफत गरी ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने र यस सम्बन्धमा स्थानीय नगरपालिका तथा प्रहरी, प्रशासनले कडाइका साथ कानुन लागु गर्ने उक्त ऐनमा उल्लेख छ । यसबाट सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण र उपभोगमा न्यूनीकरण हुनेमा विश्वास गरिएको छ ।

कार्यक्रम कनकाई माध्यमिक विद्यालय अन्तर्गतको सगरमाथा टिन्स् क्लबको आयोजना, आमा समूहको उत्प्रेरणा र कनकाई बालअधिकार चेतना समूह, कनकाई स्काउट दल, जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रस सर्कलको सहयोगमा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सगरमाथा टिन्स् क्लबका संयोजक शिक्षक खेमराज भट्टराईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक भीमप्रसाद दहालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 503

प्रतिक्रिया (०)