Aamsanchar

सशस्त्रका एसपीद्वारा आगजनी

Author Image
शुक्रवार, वैशाख १२, २०७७

झापाको कमलगाँउपालिकामा सशस्त्र प्रहरीका एसपीले स्थानीय एक व्यक्तिको निजी सम्पतिमा गत बुधबार साँझ आगजनी गरिदिएका छन् ।

सशस्त्र प्रहरीको प्रहरी जवान शिक्षालय कमल– ५ का सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुधिरजङ्ग थापाको निर्देशनमा स्थानीय पुर्णबहादुर माझीको पुराना काठ– पातमा आगजनी भएको हो । एसपी थापाले २०/२५ जनाको सशस्त्र प्रहरी लगाएर काठपातमा आगजनी गरिदिएको वडा अध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।

उनका अनुसार माझीले पुरानो घर भत्काएर फुकालेका काठपात राखिएका ठाँउमा सशस्त्र प्रहरीले आगजनी गरिदिएको हो । माझी २०५४ सालदेखि त्यहाँ बसोबास गर्दै आएका थिए । रतुवा खोलाको बाढीले विस्थापित गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीको अनुमतिमा स्थानीय प्रशासनले माझी लगायतका १५ घर परिवारलाई त्यहाँ राखेको थियो ।

२०५९ सालमा सशस्त्र प्रहरीको पाथीभरा गण स्थापना भएपछि माझी लगायतका गाँउलेले उपभोग गर्दै आएको जग्गा गणलाई प्रदान गरिएको थियो । स्थानीय जानकारका अनुसार सुकुम्बासीको बसोबास भएको सो क्षेत्रमा अर्को व्यवस्था नभएसम्म गाउँलेलाई त्यहींँ राख्ने सहमति थियो । उक्त जग्गा नेपाल सरकारको हो । सशस्त्र प्रहरीले यसअघि स्थानीय गाउँलेलाई उक्त जग्गा खाली गर्न पटकपटक दबाब दिंँदै आएको पीडितले बताएका छन् । ‘पुरानो घर भत्काएर निकालिएका काठपात खाली जमिनमा राखिएको थियो ।

सशस्त्र प्रहरीका हाकिम आएर एक्कासी आगजनी गरिदिनुभयो – उनले भने । वडा अध्यक्ष निरौलाका अनुसार सशस्त्र प्रहरीका एसपीको सनकले एक जना गरिबको निजी सम्पत्तिमा आजगनी भएको हो । ‘आगजनी भइरहँदा म पुगेको थिएँ । त्यहाँ एसपी साहेव आफै  हुनुहुन्थ्यो । के गर्नु भएको यो ? भनेर सोद्धा तालिमकेन्द्रको जग्गामा काठपात राखेको थियो, हटाउनुहोस् भनेर पटक–पटक भन्यौ ।

नटेरेपछि आगो लगाइदिएको भनेर गैर जिम्मेवार जवाफ दिनुभयो – वडा अध्यक्ष निरौलाले भने । वडा अध्यक्ष निरौलाका अनुसार माझीको परिवार अति विपन्न हो । उनलाई बन्दाबन्दीका कारण जीवन चलाउन मुस्किल परेको बेला गाउँपालिकाले राहत पनि दिएको थियो । गाउँका अन्य घरमा जस्तापाताको छाना हुँदा उनका घरमा खरको थियो । पालिकाले ५० हजार अनुदान दिएर माझीले अब बन्ने नयाँ घरमा जस्ता लगाउने तयारी गरेका थिए । स्थानीयका अनुसार आगो निभाउने क्रममा २१ वर्षीय लक्ष्मण माझी र ५८ वर्षीय तोस्तादेवी कोइरालालाई सशस्त्र प्रहरीले कुटपिट समेत गरेका थिए । वडा अध्यक्ष लगायतका जनप्रतिनिधि घटनास्थल पुगेको केहीबेरपछि एसपी लगायतको टोली तालिमकेन्द्र गएको थियो । यो समाचार आजको पूर्वाञ्चल दैनिकमा बिनोद सापकोटाले लेखेका छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर