-भरत शिवाकोटी [ हाल प्रवासमा ]
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ……..
हरेक बर्ष तिमी आउँछौ
केही मान्छेहरु नाच्छन, गाउँछन, रमाउँछन
तर ति वस्तिहरुमा, ति झुप्राहरुमा
हरेक नयाँ बर्षहरु थपिदै जाँदा
धुरिबाट धुँवा निस्कन छोडेको छ
गतसाल कैयौंको संख्यामा कठाङ्ग्रिएर काप्नेहरु
आज हजारौंको संख्यामा थपिएका छन
आकाशको छानो ओढने वस्तिहरुका
आङ्गहरु रित्तिएका छन, वस्त्र विहीन भएर
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ………
पोहोर देश बिरामी परेको थियो
यसपाली त थलिएको छ, तङ्गरिनै नसक्ने गरी, उठनै नसक्ने गरी
पोहोर मेरो देशमा रहेको लिपुलेक आज मेरै रहेन
दिनदिनै सिंङ्गो देश साँघुरिदैछ, खुम्चिदैछ
हिजोको गोर्खालिको ईतिहास आज फाटिसकेको छ
त्यसैले त म अलाप्न मात्र सक्छु, विलौना गर्नमात्र सक्छु
मेरै आँखा अगाडि मेरै मातृभूमी खोसिदा
म टुलुटुलु हेर्ने लाचार भएको छु
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ……….
सन्तानहरु सपना सजाएर अरबको खाडीमा पसिना पोख्दैछन
अलिकती पैसा छ तर बालबच्चा भोकभोकै छटपटिदै छन
किनभने आज फाँटहरु र खेतहरु बाँझै छन
नारा घन्काएर भोको पेट किन भरिन्थ्यो र
दुनियाँ लोभिने मेरो संस्कृति
आज नाङ्गै बाँझो खेतमा बुख्याँचामा ठडिएर रमिते भएको छ
लमतन्न सडकका किनारमा गन्हाएको छ
मित्र भनेर ढाडमा छुरा हान्ने छिमेकिको कपटमा
कतै मागिदैछ, कतै किनिदैछ, कतै बेचिदैछ, कतै खोसिदैछ
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ……….
मैले सक्ने भए नयाँ बर्ष
तिमीलाई रोकिदिन्थे सँधैंका लागि
किनभने मेरा भाकलहरु, कामनाहरु तिम्रो जन्मदेखी नै अधुरा छन
तिमी आँफै आउँछौ, आँफै जान्छौ
बदलामा झुप्राहरु तोडिन्छन, सपनाहरु च्यातिन्छन
खोइ, त्यो सिंहदरबारको चियापान कहिले झुपडिमा आइपुग्ला
त्यो सिंहदरबारको आँखा कहिले लिपुलेक र खोसिदै गरेको जमिनमा पुग्ला
त्यसले कहिले भित्रिएको विकृती र बाहिरिएको संस्कृतिलाई देख्ला
मन नलागी-नलागी सर्वथा प्रताडित अवस्थामा
यस्तो दोसाँधमा तिमी नै भन न
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ……….
नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र ……….