आगामी जेठ ७ देखि इलाममा सुरु हुने १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि खेलाडी छनोट सम्पन्न भएको छ ।
ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा भक्तपुरका विक्रम जती ७.५ अङ्कसहित पहिलो भए । उनले नवौँ तथा अन्तिम चरणमा ललितपुरका रवीन्द्र शाक्यसँग बराबरी गरे ।
त्यस्तै, रुकुमका मिलन रोक्का दोस्रो भए । उनले अन्तिम चरणमा थापाथली चेस पार्कका कमल श्रेष्ठसँग बराबरी गरे ।
त्यसैगरी, झापाका प्रकाश नेपाल तेस्रो भए । उनले अन्तिम चरणमा आफ्नै जिल्लावासी अविरल राईलाई हराउँदै सात अङ्क जोडे ।
छनोटमा ६.५ अङ्क जोडेका बाँकेका कृष्ण शाह, भक्तपुरका विकास कुलुज, सुनसरीका मणिराज डाँगी, थापाथली चेस पार्कका मदन रायमाझी, काठमाडौँका सूर्य बस्नेत, भक्तपुरका विजय जती, सप्तरीका मनोज विक, थापाथलीका कमल श्रेष्ठ, ललितपुरका रवीन्द्र शाक्य र काठमाडौँका दीपक मर्हजन चौथोदेखि १३औँ स्थानमा रहे ।
त्यस्तै, ६ अङ्क जोडेका कैलालीका रुद्र खनियाँ, काठमाडौँका भगवतीप्रसाद शर्मा, काठमाडौँकै नवीन तण्डुकार, अन्नपूर्ण उच्च माविका मिलन लामा १४औँ देखि १७औँ स्थानमा रहँदै छनोट भए । समान ६ अङ्क जोडेका भक्तपुरका गणेश दुवाल, ललितपुरका बाबुराजा महर्जन र झापाका अविरल राई शीर्ष २० स्थानमा रहँदै छनोट भए ।
अघिल्लो दिन भएको चौथो महिला राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट सम्पन्न भएको थियो जसबाट १२ जना इलाममा हुने राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट भएका हुन् । महिलातर्फ काठमाडौँकी सिन्दिरा जोशी, रौतहटकी विशेखा जयसवाल तथा नुवाकोटकी सुजना लोहनी शीर्ष तीन स्थानमा रहे ।
दुवै स्पर्धाका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद् परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले पुरस्कार वितरण गर्नुभयो । छनोट प्रतियोगितामा खुल्लातर्फ ११८ तथा महिलातर्फ २७ जना खेलाडी सहभागी थिए ।