Aamsanchar

‘कात्तिक– मङ्सिरभित्र स्थानीय निर्वाचन’

Author Image
शनिवार, वैशाख २५, २०७३

PM-KP-Sharma-Oli

काठमाडौ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो–“कात्तिक÷ मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।” यसैगरी प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गतेभित्रमा आमनिर्वाचन हुने पनि स्पष्ट पार्नुभएको छ ।

सत्तासाझेदार एनेकपा (माओवादी)सँग भएको नौ बुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । “नौ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो” – प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देश सङ्घीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका वरिष्ठ अधिकारीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । “हामी सङ्घीय ढाँचामा गएका हौँ । यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो – “सङ्घीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ, त्यसैअनुसार काम गर्नुपर्छ ।”

नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकामा प्रशंसा गर्नुभयो । सङ्क्रमणकालीन अवस्थामा समाजमा आपराधिक घटनामा वृद्धि हुने भएकाले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

विगतमा भएका आन्दोलनमा प्रहरीले अतिरिक्त बल प्रयोग भयो भन्नु गलत भएको प्रधानमन्त्रीले बताउनुभयो । “केही महिनाअघि भएका आन्दोलनमा अतिरिक्त बल प्रयोग भएको छैन । बरु प्रहरीले आफू मरेर, घाइते भएर पनि संयमता अपनाएको छ ।” देश अप्ठ्यारोमा भएका बेला त्यसलाई सजिलोमा ल्याउने जिम्मा प्रहरीका काँधमा आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नेपालमा साम्प्रदायिक आन्दोलनको बीउ छरेर द्वन्द्वमा फसाउन केही वर्षअघिदेखि नै प्रयास भइरहेकामा त्यसलाई नेपाली जनताले अस्वीकार गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “विभिन्न द्वन्द्वका बीउले नेपालको सुरक्षा निकायलाई गाली बेइज्जती गर्ने आक्रमण गर्ने जस्ता अभ्यासहरु भए”, प्रधानमन्त्री ओलीले भन्नुभयो – “तर त्यस्ता अभ्यास अहिले क्रमशः निस्तेज भएर समाज अहिले एकीकृत भइरहेको छ ।”

अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा महिलाको सङ्ख्या बढाउन सरकार सकारात्मक भएको बताउनुभयो । अहिले नेपाल प्रहरीमा महिलाको सङ्ख्या सात प्रतिशत भएकामा आगामी तीन वर्षभित्र १० प्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी भ्रष्टाचारमुक्त हुनुपर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले “आफ्नो मातहतका प्रहरीको नजरमा नगिर्न” निर्देशन दिनुभयो । प्रहरीको सङ्ख्या बढाउनेभन्दा पनि अहिलेकै सङ्ख्या प्रविधि र क्षमतायुक्त बनाएर सानो सङ्ख्याबाट धेरै काम लिनुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र कमाण्डर सेन्टरको पनि निरीक्षण गर्नुभयो । प्रधानमन्त्रीका साथ गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर