काठमाडौँ । मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् ।
हावाहुरीका कारण ती नागरिकले लिएर गएका सबै सामान तितरवितर हुनुका साथै स्वास्थ्यमा समेत गम्भीर असर परेको फ्रेन्स एड्भान्चर टिम प्रालिका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।
मुस्ताङबाट सरिबुङ साउथ ५९२ मिटरमा पुगिसकेपछि हावाहुरीका कारण ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरून इन्ग्रिडको उद्धारका लागि दुई वटा हेलिकप्टर खटाइए पनि खराब मौसमका कारण उद्धारमा समस्या भएको लामाले बताउनु भयो । उहाँकाअनुसार सो घटना भएको दिउँसो २ः३० बजे मात्र थाहा भएको हो । ती दुई जर्मन नागरिकको स्वास्थ्य अहिले गम्भीर रहेको छ । उनीहरुको टोलीमा अन्य १८ जना नेपाली सहयोगीहरु रहेका छन् ।