Aamsanchar

दश माओवादीबीच एकता

Author Image
बिहिवार, जेठ ६, २०७३

CizxjMRUgAAK3ik

काठमाडौँ । विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ ।

यहाँ आज आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायते नयाँ नामलाई अनुमोदन गरेका हुन् ।

घोषणासभामा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा विभाजित सबै माओवादी घटकबीच एकता भई नयाँ क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रको जन्म भएको घोषणा गर्नुभयो ।

घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नयाँ आधारमा निर्माण भएको पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पु¥याउने र नेपाली जनताको सपना र चाहनालाई पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको सुरुवातसँगै पार्टीमा देखिएको टुट फुटबाट पाठ सिकेर क्रान्तिकारी माओवादी एकै ठाउँमा आएका छौँ । यसले नेपाली जनतामा नयाँ उभार पैदा गर्नेछ भने क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्नेछ ।”

पार्टी टुट फुटमा हराउँदा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपाङ्ग भएका क्रान्तिकारी योद्धाले सोध्ने प्रश्नको उत्तर आफूहरुसँग नरहेको भन्दै उहाँले आगामी दिनमा ती वर्ग तथा क्षेत्र मात्रै नेपाली जनतालाई नयाँस्तरमा नेतृत्व गर्नसमेत आफूहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले माओवादी क्रान्तिकारीको विजयको दिन सुरु भएको भन्दै आगामी एकाध महिनामै आफूहरुको पक्षमा देशव्यापी चमत्कार ल्याउने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “टुट फुटबाट निराश भएका नेता तथा कार्यकर्तामा आजको एकताले नयाँ चमत्कार ल्याउनेछ, सुस्ताएकाहरु उठ्नेछन् र जनताको पक्षमा देशव्यापी माहोल सिर्जना हुनेछ ।”

माओवादी कमजोर हुँदा जनपक्षीय ‘एजेण्डा’ कमजोर बनेको उल्लेख गर्दै उहाँले सबै माओवादी एक ठाउँमा उभिएपछि जनताका विरुद्ध षड्यन्त्र गर्नेसमेत हच्किने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीका पराजयका दिन सकिए, अब विजयको दिन सुरु भएको छ । अब कोही पनि निराश हुनुपर्ने छैन ।” उहाँले देशव्यापी रुपमा सङ्गठन निर्माण र सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत परिवर्तनका एजेण्डामाथि उठेको प्रश्नको उत्तरसमेत दिन सकिने अवस्थामा पुगिएको भन्दै माओवादीलाई कमजोर पारेर, अपमानित गर्ने प्रवृत्तिको पराजय र जनताको विजयका दिन प्रारम्भ भएको बताउनुभयो । माओवादीको मात्रै एकता नभई सच्चा क्रान्तिकारी कम्युनिस्ट र राष्ट्रिय एकता पनि भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको काम पनि सकारात्मक रुपमा अगाडि बढ्ने विश्वास पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी क्रान्तिकारीलाई कमजोर पारेर कोही कसैले राजतन्त्र फर्काउने सपना देखेको भए पनि त्यो सपना आजैबाट चकनाचूर भएको छ ।”

जनताको एजेण्डालाई सम्बोधन गर्न सदन, सडक र सरकारबाट सङ्घर्ष गर्ने उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको सुरुवातको चरणमा रहँदाका दिनको जस्तै पार्टीलाई गतिशील र जीवन्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादी एकताले राष्ट्रिय एकता बलियो भएको बताउँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर बाँकी उपलब्धिका लागि सङ्घर्ष गर्दै जाने स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर