Aamsanchar

इनरुवा साक्षर नगर घोषणा हुँदै

Author Image
बुधवार, जेठ १२, २०७३

इनरुवा।
sacharta-final

सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकालाई जेठ १४ गते साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरी, नगरपालिका र स्थानीय नवयुग बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र बलाहाले संयुक्तरुपमा अनुगमन गरेको हो ।

नगर क्षेत्रका १० वटै वडामा गएर केही घरधुरीमा अन्तिम अनुगमन गरेको जिल्ला शिक्षा कार्यालयका टेकनाथ रेग्मीले जानकारी दिनुभयो । अनुगमनका क्रममा ९६ प्रतिशतले लेखपढ गर्नसक्ने अर्थात् साक्षर व्यक्ति रहेको पाइएको अध्ययन केन्द्रका अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनभुयो ।

अनुगमन टोलिमा जिल्ला शिक्षा कार्यालयका टेकनाथ रेग्मी, छवि खडका, नेपाली काँग्रेसका प्रमोद पोखरेल, नेकपा माओवादी केन्द्रका राम कोइराला, नेकपा ९एमाले०का श्यामदेव मेहता, नेपाल पत्रकार महासङ्घका सभासद् जयकृष्ण यादव लगायतको सहभागिता थियो ।

अनुगमनमा घरधुरी, घरको मुली, परिवार सदस्य सङ्ख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्ष मुनिको उमेर समूह तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति लगायतको विषयमा सर्वे फारमसमेत भरिएको बताइएको छ ।

सरकारको मापदण्डअनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था रहेको छ । सो मापदण्डअनुसार इनरुवा नगरपालिकामा साक्षर व्यक्ति ९६ प्रतिशत रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जिल्ला शिक्षा कार्यालयका साक्षरता तथा अनौपचारिक शाखा हेर्ने अधिकृत टेकनाथ रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 494

प्रतिक्रिया (०)

सम्बन्धित खबर