Aamsanchar

जग्गा नछोड्ने सुकुम्वासीको चेतावनी

Author Image
शुक्रवार, जेठ १४, २०७३

मोरङ–

sukumbasi-basti-of-kathmandu

४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् ।

बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा पत्रकारसम्मेलन गर्दै आफूहरुले ढालफाँड गरी भोगचलन गर्दै आएको जग्गा कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् । ‘सट्टाभर्नाको नाममा भूमाफियाले गरेको यसखाले चलखेलविरुद्ध संगठित रुपमा आन्दोलित हुन्छौँ’ नेपाल भूमिहीन सुकुम्वासी संगठनका मोरङका अध्यक्ष ओमनाथ उप्रेतीले पत्रकार सम्मेलनमा भने, ‘अबको लोकतान्त्रिक व्यवस्थामा पनि कसैले यसखाले दिवास्वप्न देख्ने कष्ट नगर्नुहोला ।’
सर्वाेच्च अदालतको फैसलाबमोजिम गृह मन्त्रालयको २०७१ असोज २४ को कार्यादेशमा मोरङका प्रजिअ तोयम रायको संयोजकत्वको स्थानीय संयन्त्रले २०७३ साल वैशाख २९ गतेको बैठकको निर्णयअनुसार भन्दै २९ जना सट्टा भर्नावालालाई जग्गा भोगचलन गराउन जेठ १० गतेको पत्रपत्रिकामा सूचना प्रकाशित गरिएको थियो ।
नगरका विभिन्न ठाउँमा स्थानीयवासीले भोगचलन गरिरहेको जग्गा ३५ दिनभित्रमा खाली गरी सट्टाभर्नावालालाई बसोबास गराउन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेपछि वर्षाैंदेखि पुर्जा नपाएका र दोहोरो स्वामित्वको झमेलामा पर्दै आएका नगर क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।

उनन्तीस परिवारको जग्गा छोड्नुपर्ने सूचना आएको अवस्थामा आफूहरुमा पनि यसखाले समस्या आउन सक्ने ठानेर नगर क्षेत्रका सयौँ स्थानीयवासी पत्रकारसम्मेलनमा सहभागी भएर आन्दोलित हुने अभिव्यक्ति दिएका छन् ।
‘हाम्रो बुबा पदमसिंहले सरकारी आदेश पाएर ढालफाँड गरेर बसेको जग्गामा अहिले कीर्ते पुर्जा निकालेर उल्टै हामीलाई सुकुम्वासी बनाउनु ज्यादै अन्यायपूर्ण काम भएकाले हामी यस्तो अन्यायको विरुद्ध लड्ने निरन्तर तयारीमा छौं’, पीडितका तर्फबाट प्रेस विज्ञप्तिमा नाम उल्लेख भएका राजन पाख्रिनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर