Aamsanchar

चिकित्सकले नै कमिसनको लोभमा विरामीलाई भारत रेफर गरेपछि …

Author Image
आइतवार, जेठ ३०, २०७३

झापा ।

30032016073259doctor-1000x0

 

कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ ।

 

सरकारी चिकित्सक निजी क्लिनिक तथा हस्पिटलमा गएर काम गरिरहेको र उनीहरुले नै कमिशन लिएर विरामीलाई भारत रेफर गर्ने गरेको समाचार सार्वजनिक भए लगत्तै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले शनिवारराति नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा त्यस सम्बन्धी विभिन्न क्षेत्रबाट गरिएको प्रश्नको जवाफ दिँदै त्यस्तो निर्देशन दिनुभएको थियो ।
झापाका विभिन्न क्लिनिक र हस्पिटलमा कार्यरत चिकित्सकले कमिशनको लागि विरामीलाई जालझेल गरेर पैसा कमाउने मात्र सोच राखेको भन्ने विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको सेवालाई उच्च प्राथमिकता दिन चिकित्सकलाई आग्रह समेत गर्नुभएको छ ।
 रगत जाँच लगायत विभिन्न प्रकारको स्वास्थ्य परीक्षणका लागि झापाका चिकित्सकलाई भारतीय हस्पिटलले मोटो रकम कमिशन दिने भएकाले उनीहरुले विरामीलाई सोझै भारतमा रेफर गर्ने गरेको, उपचारका नाममा बर्षेनी मेची अञ्चलबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको, चिकित्सक सेवाभन्दा पनि कमाउने धन्दामा अग्रसर भएको भनी विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष गुनासो आएको थियो ।
सर्वसाधारणको गुनासोलाई  सम्वोधन गर्दै त्यस विषयमा आफू गम्भीर भएको भन्दै प्रम ओलीले तत्काल छानविन गर्न लगाउने बताउनुभयो । उहाँले अनुमानका भरमा विरामीलाई भारत रेफर नगर्न र पैसाका लागि जालझेल नगर्न चिकित्सकलाई सुझाव पनि दिनुभयो ।
उक्त कार्यक्रम मार्फत झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलको समेत ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य क्षेत्रमा बढेको त्यस्तो विकृतिको तत्काल छानविन गरेर आवश्यक कार्वाही अघि बढाउन कार्यक्रममार्फत प्रजिअ भुजेललाई भनिएको छ ।
कानुन विपरीत झापामा सरकारी चिकित्सक निजी क्लिनिक र हस्पिटलमा कार्यरत रहेको, कमिशनका लागि रगत परीक्षणदेखि एमआरआईसम्मका सबै परीक्षण गर्न झापाका चिकित्सकले भारतका शिलगढीका हस्पिटलमा रेफर गर्ने गरेको समाचार सार्वजनिक भएको छ ।
एम्बुलेन्सले पनि हस्पिटलबाट कमिशन लिने गरेको, झापाका निजी क्लिनिकहरु मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको घटना विभिन्न सञ्चारमाध्यमले सार्वजनिक समेत गरेका छन् । त्यस्तै सचेत नागरिक समूह झापा नामको संस्थाले पनि स्वास्थ्य क्षेत्रका त्यस्ता विकृति बारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको समाचार सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर