Aamsanchar

कर्मकाण्डका लागि पुरोहित अभाव

Author Image
बिहिवार, असार २, २०७३

purohit

बेनी (म्याग्दी) ।

पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नाका साथै धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ ।

पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले संस्कृत पढ्न छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मण(पुरोहित, पुरेत)को अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

वेद, उपनिषद्, पुराण, रुद्री लगायत ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पण्डितका अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–८ का तिलक रिजालले बताउनुभयो । “हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, रिजालले भन्नुभयो, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।”

संस्कृत शिक्षा हिन्दूको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुन सक्ने शिक्षक गोरखनाथ सुवेदीले बताउनुभयो ।
कर्मकाण्ड गर्ने बुढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । अहिले यहाँ पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर