वीरगञ्ज–
नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट केही डाक्टरलाई पक्रेको छ ।
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह, बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल र नाक कान घाँटी रोग बिशेषज्ञ डा. दिनेश साहलाई प्रहरीले पक्रेको हो ।
अस्पतालका डाक्टरहरुलाई प्रहरीले लगेको तर लैजानु पर्ने कारण बारे आफूलाई थाहा नभएको अस्पताल विकास समितिका सदस्य सुदीप लामाले जानकारी दिनुभयो ।
स्रोतका अनुसार डाक्टरहरुले नक्कली प्रमाण पत्र पेश गरेको आशंकामा छानविनका लागि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले सिआइबीले पक्राउ गरेको आफूले सुनेको तर कारण थाहा नभएको जानकारी दिनुभयो ।
सिआइबीले एसएलसी तथा प्लस टुको नक्कली प्रमाण पत्र बनाएर डाक्टर बनेका र इन्जिनियर बनेकाहरुमाथि पछिल्लो समय छानविन र कारवाही गरिरहेको छ ।
यता नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई पक्राउ गरेको छ ।
विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । अस्पालको क्याबिनमा बिरामी जाँचिरहेका बेला बिरामीको पूर्जा नै काटेरै प्रवेश गरेका ब्यूरोका सदा पोशाकका प्रहरीले डा. अख्तरलाई पक्राउ गरेका हुन् ।
लाइफ गार्ड अस्पतालका प्रवन्ध निर्देशक डा. कैलाशकुमार श्रेष्ठले अपरिचित केही व्यक्तिले डा. जावेदलाई अस्पालबाटै नियन्त्रणमा लगेको बताए ।