Aamsanchar

नेपालमा दिनप्रतिदिन बढ्दैछ बाथरोग

Author Image
मङ्गलवार, असार १४, २०७३

सरोज ढुङ्गाना,

काठमाडौँ। 

indexb

कुनै लक्षणबिना नै देखा पर्ने बाथरोग नेपालमा दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
चिकित्सकका अनुसार शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरलाई असर गर्न थालेपछि बाथ रोग देखा पर्ने गर्छ ।  वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले बाथ विभिन्न किसिमका हुने जानकारी दिँदै कुनै निश्चित समयसम्म औषधि सेवन गरेर ठीक हुने भए पनि कुनै कुनै बाथ जिन्दगीभर औषधि खानुपर्ने खालका हुने बताउनुभयो ।
उहाँले कुनै बाथको सुरुआत अवस्था हो भने हप्ताको ५० रुपियाँको औषधिले पुग्ने भए पनि त्यही बाथ जटिल बन्दै गएको खण्डमा प्रत्येक वर्ष दुई लाख रुपियाँसम्मको इन्जेक्सन लगाउनुपर्ने जानकारी दिनुभयो ।  बिनालक्षण देखा पर्ने हुनाले बाथरोगलाई मानिसले त्यति वास्ता नगर्ने गरेको चर्चा गर्दै वरिष्ठ बाथरोग विशेषज्ञ डा. वैद्यले भन्नुभयो, “बाथरोग जटिल बन्दै गएको छ भने त्यसबाट हुने परिणाम  नकारात्मक हुन्छ । ”
आफूले उपचार गरिरहेका बाथरोगका बिरामीमध्ये वार्षिक १५ जनालाई दुई लाख रुपियाँ पर्ने बाइलोजिकल इन्जेक्सन दिने गरेको जानकारी उहाँले दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकासोन्मुख देशमा १० प्रतिशतलाई कुनै न कुनै किसिमको बाथरोग हुने गरेको छ ।  पछिल्लो समय नेपालीलाई देखा पर्ने बाथमा मांसपेशीको बाथ, कठिया बाथ, आमबाथ, हाड खिइने बाथ, लुपस (मुटु, मिर्गौला र रगत)मा देखिने बाथ, छालामा देखिने रहेको जानकारी गराउँदै डा. वैद्यले भन्नुभयो, “धेरैजलाई बिहानपख हातखुट्टाको जोर्नी दुख्नुका साथै सुन्निने र अप्ठेरो हुने गर्छ । ”
बाथरोगसँग सम्बन्धित सङ्घसस्थाको पहलमा केही निश्चित स्थानमा गरिएको अध्ययनमा पनि आठ प्रतिशतमा बाथरोग देखिएको डा. वैद्यको भनाइ छ ।  डा. वैद्यका अनुसार ३० प्रतिशत बाथरोग वंशाणुगत, चुरोट सेवन गर्ने र धुवाँमा बस्नेलाई एवं २५ प्रतिशत अरू हर्मोनको गडबढीले बाथरोग हुने गर्छ ।
सबभन्दा बढी बाथरोगको समस्या  महिलालाई हुने गरेको जानकारी दिँदै एक सय जनामध्ये ६५ देखि ७० जना महिलालाई बाथरोगले सताउने गरेको उहाँले बताउनुभयो  ।  “महिलाको हर्मोन समयसमयमा तलमाथि हुने भएकाले बढी बाथरोगले सताउँछ”, डा. वैद्यले थप्नुभयो, “महिलाहरू गर्भावस्था हुँदा होस् या मासिक रक्तश्राप हुँदा,  हर्मोनमा गडबडी हुन्छ र बाथरोग देखा पर्छ । ” नेसनल बाथरोग सेन्टरका प्रमुख रोशन कक्षपतिले बाथरोगसम्बन्धी जनचेतना फैलाउन सके मानिसले समयमै बाथरोगको पहिचान गर्ने र उपचार गर्न सहज  हुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)