[नरेन्द्रराज प्रसाई]
प्रिय डा.गोविन्द केसीजी !
त्रिभुवन विश्वविद्यालयको एक जना प्राध्यापक र शिक्षण अस्पतालको एक जना हाडजोर्नी विशेषज्ञ अनशन बसेको बेहोराले एक पटक नेपाल हल्लिएको थियो । त्यसबेला म जस्ता धेरै तपाईका पक्षमा नै थिए । त्यसबेला तपाईको त्यो अनशन पेसा थिएन आवश्यकता थियो भन्ने हाम्रो बुझाई थियो । अझै पनि त्यस किसिमका बुझाई हामीभित्र भैदिए हामीले पहिला तपाईलाई समर्थन गरेको बेहोरामा पछुतो हुँदैन थियो । तपाई कसैको खेताला र खेलौना भएर या कुनै लहडीमा यसरी नै अनशन गर्दै आउनु भएको छ कि ? यसरी पटकपटक गरेर दर्जनौ पटक पुग्न लागेको तपाईको अनशन अबका दिनमा खेर जाँदैन भन्न सकिँदैन । त्यतिमात्र होइन यसप्रकारको तपाईँको क्रियाकलापले तपाईको प्राध्यापकीय र चिकित्सकीय निष्ठा, योगदान र गरिमा नै गर्ल्याम्मै ढल्ने निश्चित छ । त्यसैले तपाई आवेसी अहङ्कारमा नजानु होस् । रावणले पनि अति अहङ्कार गरेर नासै हुनु पर्यो, अति राम्री भएकीले सीताको हरण भयो र बलीलेे अति दान दिनाले बाँधिनु पर्यो । वास्तवमा अति भएपछि खती नै हुन्छ ।
डा.गोविन्दजी ! आजको नेपाल कुन अवस्थामा छ ? छिमेकीले हामीलाई बाघपञ्जा गाडिसकेको बेहोरामा तपाईको धारणा के छ ? हाम्रो दक्षिणी छिमेकी राष्ट्रले दक्षिण एशियामै अशान्ति पार्दै आएको सन्दर्भमा नेपालप्रति उसको कस्तो चित्रलेखा होला ? के अब फेरि ऊ चुप लागेरै बसिरहला ? हिजोका दिनमा के हामी नेपालीकै बुताले बहुदलीय प्रणाली ल्याएका थियौं त ? के हामी नेपालीको चाहनाले नेपालमा गणतन्त्र छिरेको हो र ? के नेपालमा गरिवी र आन्तरिक सङ्घर्ष हामी आफूखुसी ल्याइरहेका छौं र ? के देशका मुख्य सिंहाशनमा पनि नेपालीका चाहनाले नै कोही बसेको थाहा पाउनु भएको छ त? यतिहुँदाहुँदै बौद्धिकवर्ग डायनाशोर बिर्साउने खेलमा एकअर्कामा नै मरिरहनु भनेको हाम्रो राष्ट्रिय दुर्भाग्य होइन र ?
डा.गोविन्दजी ! अब त नेपालमा चाहे राम्रो काम गर्ने मान्छे हुन् चाहे देशै बेच्ने मनसायले प्रेरित मान्छे नै हुन् ती सबैसँग बराबरी शङ्काकै भावना उब्जने प्रथाको आरम्भ भैसकेको छ । कतिसम्म भने यदि तपाई नेपालप्रति सच्चा भावले चिन्तितै हुनु भएको छ भने पनि त्यस बेहोरामा समेत हामीलाई थप शङ्काले घेर्न थालिसकेको छ । त्यसैले यसबारे हामीमाझ तपाईप्रतिको आस्थाको पर्खाल नभत्किने अवस्था भने कमजोर भैरहेको छ ।
डा.गोविन्दजी ! त्रिवि शिक्षण अस्पताल विग्रिएको, भत्किएको र डामाडोल भैरहेको तपाईलाई थाहा छ कि छैन ? तपाईं त्यस अस्पताललाई बनाउनुको बदला भ्रष्टाचार विरोधी अभियानमा रातोदिन समर्पित एक जना लोकमानसिंह कार्की उपर किन खनिनु भयो ? एउटा हिम्मतिलो, एउटा त्यागी र एउटा स्वच्छ छवीका व्यक्ति माथिको कपोल्कल्पित तपाईंको आरोपको कति मूल्य हुन्छ ? छ वर्षा राष्ट्रको भ्रष्टाचारलाई सकेसम्म धेरै नियन्त्रण गर्छु भन्ने अभियानमा हिंडेका मान्छेको बदनाम गराउने तपाईंको परिपञ्चले के अर्थ राख्ला ? हो, अहिले तपाई अनशन बस्न सक्नु होला र लोकमानको खिलापमा जनजागरण पनि उपस्थित गराउन सक्नु होला । तर तपाईंकै माग बमोजिम उहाँले नैतिकताले राजिनामा दिनु पर्छ र ? के तपाईको चाहिं नैतिकतालेशिखर आरोहण गरेको छ नै भन्ठान्नु हुन्छ ? त्यसो पनि भएन एउटा पेसेवर मान्छेले हुइँयाका आडमा जे माग राखे पनि हु्न्छ त ? यदि लोकमानको कुर्सी रित्याउन सक्नु भयो भने तपाई नै राष्ट्रको सर्वोच्च शक्ति नै भैहाल्नु भयो नि ! त्यसै गरेर भोलि सबै, सबै र सबैलाई पदबाट बर्खास्त गर्न तपाईंकै मात्र आवाश्यक्ता हुन जान्छ । भनौं तपाईका जजमानले अनशनमा खटाउने वितिक्कै एउटा कुर्सी खाली हुने भयो । तपाईंका हिसावमा बोल्नु पर्दा त्यसपछि यहाँ किन चाहियो कानून ? यहाँ किन चाहियो ऐन ? अनि यहाँ किन चाहियो संविधान ? तपाईं यो कस्तो गाईजात्रे कदम चाल्दै हुनुहुन्छ? तर तपाईं इतिहासमा पनि विश्वास राख्नु होस्, गोविन्दजी ! अन्ततः राम्रो र नराम्रो जे कुराको पनि इतिहास लेखिन्छ । यदि इतिहासले लोकमानसंहि कार्कीको कामलाई अपजस लगायो भने म नरेन्द्रराज प्रसाई जस्ता लोकमानका मूल्यवान कामका कैयौं समर्थकहरूलाई पनि त्यसबखत तपाईं र तपाईका हुँइयाहरूले धिक्कारे हुन्छ ।
डा.गोविन्दजी ! मान्छेले हुइँया बटुल्दैमा उ ठुलो हुँदैन । ठुलो हुन कर्म चाहिन्छ । आजको मुलुकको दयनीय अवस्थाको वितृष्णामा तीतो मात्र पोख्ने जमात बोकेर नहिंड्नु होस् । अनि तिनै जमातले भोलि तपाईंलाई कालो मोसो दल्दैनन् भनेर पनि निस्फिक्री नहुनु होस् । नेपालको परिवेशमा त्यो जमात भनेको हुइँया मात्र हो । कुनै बेला नानीमैया दाहालका अघिपछि कत्रो जुलुस थियो ? त्यसोभए उनी महान् नेता थिइँन् त ? वास्तवमा नानीमैया जनवितृष्णको प्रतिबिम्ब मात्र थिइँन् । वातावरण शान्त भएपछि तिनै हुइँयाहरू नानीमैयासँग बोल्न पनि लाज मान्थे । यहाँका बौद्धिकजनहरू बेलाबखत हुइँयाको अवतारका रुपमा पनि देखा पर्ने घटना नयाँ होइन नै ! त्यसैले गणेशमान सिंहले भनेका थिए- ‘काठमाडौंका जनताले घाँस खान्छन् ।‘
डा.गोविन्द केसीजी ! तपाईंले लोकमानसिंह कार्कीलाई नेपालका सबैभन्दा योग्यमध्येकै योग्य व्यक्तित्वका रुपमा स्वीकारे हुन्छ । लोकमानको शैक्षिक,प्रशासनिक र दानशीलकै योग्यताकै मात्र के कुरा र लोकमानहरू भनेका त वङ्शगत भूमिपति नै थिए । लोकमानहरूले आफ्नो खेतका गरा काट्ता,काट्ता र काट्ता पचास वर्षको अवधिमा उनीहरू ५०० विघा जग्गाबाट ५ बिघामा ओर्लिएका छन् । हिन्दूजागरण लगायत जनसेवा, शिक्षा, स्वास्थ्य,बाटो, पुल आदिमा समर्पित नेपालमा लोकमानसिंह कार्कीहरू जस्ता लोभानी, पापानीबाट मुक्त व्यक्ति कति छन् भनेर औलामा गन्न सकिन्छ । हिजोलोती सिलाएर चप्पल लगाउने मान्छेहरू हेर्दाहेर्दै आज हिजोका लोकमानहरूभन्दा धेरै धनी भइसकेका छन् । अहिले ती नवधनाढ्यहरू सवारहुने मोटर लोकमानहरूले पनि किन्नै सक्तैनन् । वास्तवमा हिजोका लोकमानहरू आफ्नो सम्पति बाँढ्दा, बाँढ्दै आजका नवधनाढ्यका स्तरमा समेत जोखिन छाडिसके । के यसबारे तपाईंलाई कुनै जानकारी छ ?
डा.केसीजी ! देश र जनताका लागि उत्सर्गिक नेपालमा कोही त्यस्ता त्यागी गणेशमान सिंहहरू तपाईंले देख्नु भएको छ ? आफ्नै स्वार्थमा लम्पट भएका नेताका बारे गर्नुहोस् न जुलुस ! नेताहरूले हेर्दाहेर्दै नेपाललाई खरानी बनाई सकेका छन् । यसबारे खोई तपाईहरूको आवाज ? तर निहित स्वार्थीको धुपौरे भएर तपाईंहरू हिंडिदिनाले आज नेपाल बिरालाले खेलाएको मुसोको अवस्थामा दुखेको छ । अझै तपाईहरू सुझ न बुझ एउटा न्यायिक व्यक्तिको वदनाममा समय खर्चिरहनु भएको छ । वास्तवमा आजको यस्तो कारुणिक नेपालमा तपाईहरू जस्ता बौद्धिक व्यक्तिले पनि लोकमानसिंह कार्कीहरूलाईनचिन्नु भनेको मुलुककै दुर्भाग्य होइन र ?
केसीजी ! तपाईं राष्ट्रलाई क्षतविक्षत पार्ने नीति निर्णय विरोधमा अघि सर्नुहोस् । नेपालको शिक्षा, संस्कृति, स्वास्थ्य विज्ञान, यातायात, अर्थआदिलाई आज कसरी घूँडा टेक्न बाध्य पारिएको छ ? के यसबारे तपाईंले कुनै चासो राख्नु भएको छ ? यदि तपाई सक्नु नै हुन्छ भने राष्ट्रघातीहरूसँग भिड्नु होस् न ! अनि यो स्तरको काम गर्ने तपाईंसँग हिम्मत छैन भने आफ्नै अस्पताललाई बनाउनतिर मात्र भए पनि लाग्नु होस् । अरुको अस्पतालमा गएर नालीमा थुप्रिएको फोहर बडारेर फोटो खिच्नतिर तपाईं नलाग्नु होस् । अव्यवस्थित र कुरुप बन्दै गएको शिक्षण अस्पताललाई दुर्गन्धमुक्त पार्ने प्रयास गर्नुहोस् ।
डा.केसीजी ! तपाईंले केवल लोकमानसिंह कार्कीकै बिराेधमा कुर्लेर मात्र केही जित्न सक्नु हुन्न । किनभने लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आजीवन प्रमुख आयुक्त पनि होइनन् । हिजो पनि त्यहाँ कुनै प्रमुख आयुक्त नै थिए र भोलि कोही प्रमुख आयु्क्त भएर आउने छन् । त्यो पद कुनै व्यक्ति नभएर प्रकृया मात्र हो । त्यसैले तपाई आफ्नो पेसागत कामकाजमा मात्र लागिरहनु होस् । तपाईं नैतिक भएर आफ्नो निष्ठामा बस्नु भयो भने मात्र तपाईको महाअभियोग बारेको बोली पनि कसैले सुन्न पनि सक्ला कि ! तर तपाईको निष्ठालाई हालको अनशनी पेसाले जित्न थालेपछि चाहे तपाईंले १०० पल्ट नै अनशन बस्नु भए पनि तपाईंप्रति हुइँयाहरूले साथ दिने छैनन् । अनि तपाईलाई अनशन बस्न उक्साउने आजका हस्तीहरू पनि एक दिन लोकमानसिंह कार्कीको कामको मूल्य र मान्यताको जयजयकारमा समेत सामेल हुनेछन् । अनि त्यसबेला तपाईको अनशन पेसा हातमा लाग्यो सून्यमा अनुवाद हुनेछ । त्यसैले कसैको बहकाईमा लागेर तपाईंले लोकमानसिंह कार्कीलाई समस्याका रूपमा नहेरिदिनु होस् ।
आदरणीय डा.गोविन्द केसीजी ! आज हाम्रो नेपाल र नेपाली जनता भ्रष्टाचारको दन्दनाउँदो आगोमा सल्किरहेका छन् । लोकमानसिंह कार्की भनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयु्क्त मात्र होइनन्, उनी त राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रष्टाचारको गहिरो खाडलमा जकडिएको नेपाली परिवेशलाई त्यसबाट जोगाउने महाअभियानका एक जना महाअभियन्ता पनि हुन् । म एउटा कुरा किटेर भन्न सक्छु, लोकमानसिंह कार्कीको जस्तो निर्भीकताका साथ भ्रष्टाचार निवारणका लागि लड्ने भविष्यमा शायदै कोही अघि सर्ने छन् । गहुँ पिसिने लक्ष्यमा एक, दुई घुन पनि झुक्किएर पिसिन सक्छ तर दृष्टि वा मूल्याङ्कन भनेको गहुँ पिसियो कि पिसिएन भनेर हेर्नु पर्ने हुन्छ । लोकमानसिंह कार्कीको भ्रष्टाचार अनुसन्धानका गतिविधिले नेपाली परिवेशमा भ्रष्टाचारीहरुको दोहोलो काडिएको सत्यसँग चेतनशीलहरु परिचित भइसकेका छन् । नेपाली जनता राष्ट्रको भ्रष्टाचार निवारणका सन्दर्भमा लोकमानसिंह कार्कीप्रति आशा, विश्वास र भरोसाका साथ पर्खिरहेका छन् । लोकमानसिंह कार्कीले काम गर्न पाएनन् भने वा उनलाई काम गर्न दिइएन भने नवनेपालको निर्माण अनिश्चयको बन्दी बन्नेछ भन्ने जनआवाज पनि सुनिने गर्छ । अर्कातिर भ्रष्टाचारीहरुको निकै ठूलो सञ्जाल उनको विरुद्धमा लागि पर्नु पनि नौलो कुरा नै होइन । जस्को प्रतीकका रुपमा तपाईंलाई पनि लिनु पर्ने अवस्थाको सिर्जना भएको छ । तपाईंद्वारा कपोलकल्पित व्योहोरा उठाएर लोकमानसिंह कार्कीको अभियानलाई खण्डित पार्ने जुन लक्ष्य देखिएको छ, यो सरासर प्रायोजित हो भन्ने कुरा सामान्य चेतनायुक्त नेपालीले पनि टड्कारै बुझेको सत्य हो ।
आदरणीय डाक्टर साहेब ! तपाई एउटा राम्रो चिकित्सक पनि भएको सन्दर्भमा तपाईंप्रति सदासयता राख्दै मैले यो अनुरोध गरेको हुँ । तपाईं आफ्नो चिकित्सा पेसाप्रति नै वफादार भएर लाग्नु होस । तपाईं यसरी कसैद्वारा प्रयोग नहुनु होस् । कालान्तरमा तपाईंबारे स्वमूल्यांकन गर्ने क्रममा तपाईं आफैंले आफूलाई धिक्कार्ने दिन नआओस् भन्ने कुराको हेक्का राख्नु होस् भन्ने मेरो निवेदन छ ।